संस्कृत र नेपाली सन्धिको तुलना
DOI:
https://doi.org/10.3126/pb.v5i10.71388Keywords:
संंहिता, परिवेश, ध्वनिपरिवर्तन, प्रकृतिभाव, संरचनाAbstract
प्रस्तुत लेख संस्कृत र नेपाली सन्धिको तुलनात्मक अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा सन्धिको सैद्धान्तिक आधार तयार पारी उक्त सैद्धान्तिक आधारले निर्देश गरेअनुसार संस्कृत र नेपाली सन्धिका वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनको तुलना गरी प्राप्त भएको निचोड प्रस्तुत गरिएको छ । विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी सन्धिप्रक्रियासँग सम्बद्ध परिवेश, ध्वनिपरिवर्तन, संरचना र क्षेत्रका आधारमा संस्कृत र नेपाली सन्धिको तुलना गर्दा प्राप्त भएको मुख्य निष्कर्ष के हो भने सन्धि दुई भाषिक एकाइको संयोजन हुँदा हुने ध्वनितात्त्विक परिवर्तन हो । दुई भाषिक एकाइको संयोजन हुँदा पनि परिवर्तन नहुने स्थिति चाहिँ प्रकृतिभाव हो । सन्धि सबै भाषामा पाइने हुँदा सार्वभौम प्रकृतिको भए पनि भाषिक एकाइहरू सबै भाषामा समान किसिमका नहुने भएकाले यिनको संयोजनमा घटित हुने सन्धि पनि मूलतः भाषाविशिष्ट व्यवस्था हो । यसैले संस्कृत र नेपाली सन्धिमा समानता हुँदाहुँदै पनि पर्याप्त भिन्नता पनि छ । संस्कृत र नेपाली दुवैमा ध्वन्यात्मक र रूपात्मक परिवेशमा आधारमा सन्धिव्यवस्था घटित हुन्छ । ध्वन्यात्मक परिवेशमध्ये ‘अघिको परिवेशको नियमन प्रक्रिया र ‘पछिको परिवेशको नियमन प्रक्रिया’ पनि दुवै भाषामा पाइन्छन् तर ‘संयुक्त परिवेशको नियमन प्रक्रिया’ चाहिँ संस्कृत भाषामा मात्र लागु हुन्छ । रूपात्मक परिवेश चाहिँ संस्कृत र नेपाली दुवै भाषामा पाइन्छ । दुई भाषिक एकाइको संयोजन हुँदा आदेश, लोप, आगम र परिवर्तन दुवै भाषामा हुने गर्दछ र कतिपय स्थितिमा परिवर्तन नभएका वा प्रकृतिभावका उदाहरण पनि दुवै भाषामा पाइन्छन् । संस्कृत र नेपाली दुवैमा व्युत्पादन र रूपायननिष्ठ सन्धि पाइन्छन् । संस्कृत र नेपाली दुवैमा आन्तरिक सन्धिका उदाहरण पर्याप्त मात्रामा पाइए पनि बाह्य सन्धिका उदाहरण भने संस्कृतमा अत्यधिक मात्रामा पाइन्छन् भने नेपाली अत्यन्त न्यून मात्रामा मात्र उपलब्ध छन् । धेरै पक्षमा समानता हुँदाहुँदै पनि परिवेशअन्तर्गतको ‘संयुक्त परिवेशको नियमन प्रक्रिया’ र बाह्य सन्धि (दुई पदका बिच हुने सन्धि) का कारण संस्कृत र नेपाली सन्धि भिन्न छन् भन्ने यस लेखको निचोड हो । संस्कृतलाई जटिल र विशिष्ट भाषा बनाउनुमा पनि बाह्य सन्धिकै विशिष्ट भूमिका छ ।