भारतमा नेवारी समाजको स्वरूप तथा नेवारी लोक–सांस्कृतिक सन्दर्भ
DOI:
https://doi.org/10.3126/pb.v7i13.77728Keywords:
जात–गोष्ठी, लोकसंस्कृति, संस्कार–संस्कृति, नेवारी जातीयता, सांस्कृतिक सन्दर्भAbstract
आजको भारतीय नेपाली समाज–सांस्कृतिक परिप्रेक्ष्यमा नेवारी जाति र उनीहरूको संस्कार–संस्कृति बलियो भएर उभिन सकेको छ । विभिन्न प्रकारका अभावहरूमाझ लड्दै भिड्दै भए पनि भारतेली नेपाली नेवारी समाज र नेवारी संस्कृतिले आफ्न अस्तित्व र अस्मिता यथावत् कायम गर्न सक्षम बनेको छ । नेवार जातिको पूर्वपरम्परादेखि चलेको कला र संस्कृति हेर्दा यसको एउटा बेग्लै र छुट्टै किसिमको ऐतिहासिक मूल्य र मान्यता रहेको देखिन्छ । भारतका विभिन्न राज्य र अञ्चलहरूमा सञ्चालित नेवारी सङ्गठन वा नेवारी समाजले नेवारी कला
संस्कृतिको जगेर्ना र उत्थान गर्नमा अग्रणी भूमिका निर्वाह गरेको जानकारी पाइन्छ । भारतको नेपाली लोकवार्ता अध्ययनको परिप्रेक्ष्यमा नेवारी समाजको विविधतायुक्त संस्कार–संस्कृति तथा विकसित नेवारी लोक–सांस्कृतिक विविध सन्दर्भले आफ्नो बेग्लै स्थान र महŒव सुरक्षित राखेको छ । भारतबाट प्रकाशित नेवारी जाति र नेवारी संस्कार–संस्कृतिबारे लेखिएको पुस्तक तथा खोजपरक लेखकहरूले आंशिक रूपमा भएपनि समाज–सांस्कृतिक परिदृश्यलाई पाठक समक्ष ल्याउने प्रयास गरेको छ । वंशावलीअनुसार नेवारहरू ब्रह्मपुत्रक्षत्रिय हुन भन्ने जानकारी पाइन्छ । नेवारी जातिमा चारै जात र छत्तिसै वर्ण पाइने हुनाले विद्वान्हरूले नेवारलाई जात मात्र नमानी नेवारी जातीयता वा समुदायका रूपमा हेरेका छन् । नेपाली जाति विभिन्न जात–गोष्ठी, भाषा–बोली र संस्कार–संस्कृतिको मिश्रणले बनेको जाति हो । नेवार जातिलाई नेपाली जातिअन्तर्गतकै एउटा ठूलो र विशिष्ट जातिसमेत मानिन्छ । तथापि नेपाली भित्रकै एउटा विशेष र सम्प्रदाय अर्थात् पूर्ण जाति हो । नेवार जातिको विविध संस्कार–संस्कृति, भाषा–लिपि, रहन–सहन, लोकव्यवहार र लोकसंस्कृति अवलोकन गर्दा यसमा विशेष गरी आर्य, मङ्गोल तथा अष्ट्रेलाइड आदिवासी संस्कार–संस्कारको मिश्रित रूप देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।