अश्वत्थामा हतोहतः नाटकमा स्वैरकल्पना
DOI:
https://doi.org/10.3126/pb.v7i14.84946Keywords:
अतिकल्पना, अद्भुतता, आलङ्कारिकता, पहिचान, प्रतिरोध, प्रभुत्वAbstract
प्रस्तुत अध्ययनमा अविनाश श्रेष्ठको अश्वत्थामा हतोहतः नाटकमा प्रयुक्त स्वैरकल्पनाको विश्लेषण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मेल्डनसन, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । अविनाश श्रेष्ठको अश्वत्थामा हतोहतः नाटकमा महाभारत कथाका पात्र अश्वत्थामालाई मिथक बनाई उनले गरेको अपराध, कृष्णद्वारा श्रापित भई अभिशप्त जीवन बाँच्नुको विवशता, पश्चाताप, शरीरका विक्षिप्त घाउका माध्यमबाट वर्तमान युगको यथार्थ प्रस्तुत गरिएको छ । अश्वत्थामाको अमरत्वलाई स्वैरकल्पनाका रूपमा लिई विवेच्य नाटकमा मिथकीय घटनालाई आधुनिक समयमा उपस्थित गराई पौराणिक पात्र र वर्तमान युगका पात्रको संयोजनमार्फत अलौकिकताको सिर्जना गरिएको छ । महाभारत युद्धले निम्त्याएको परिणाम, अर्धसत्यले जन्माएको जीवनको विसङ्गत पाटो, शक्ति र सत्तामा रहनेले स्वार्थसिद्धिका निम्ति कमजोर वर्गमाथि गरेको शोषण, सत्तामोह, लालसाजस्ता मानवीय प्रवृत्तिको अभिव्यक्ति नाटकमा स्वैरकाल्पनिक शैलीमा गरिएको छ । अश्वत्थामा सशरीर उपस्थित हुनु, आपूmमाथि कृष्णले अभिशाप दिएकाले हरेक युगको साक्षी बनी वर्तमानमा आइपुगेको बताउनु, द्रोणाचार्य, युधिष्ठिर, कृष्ण, विकर्ण द्रौपदीले पौराणिक समयको कथा जोड्दै सो घटना आज पनि उस्तै स्थितिमा रहेको अभिव्यक्ति दिनु, तिनकै भूमिका ग्रहण गरी किसान, दलाल, बुद्धिजीवी, उद्योगपतिले समकालीन युगको प्रतिनिधित्व गर्नु, अन्त्यमा पौराणिक मिथकीय पात्र वर्तमान युगका मानिसको प्रवृत्ति बनेर बाँचिरहेको अभिव्यक्ति दिनुजस्ता घटनाले नाटकमा मिथकीय सन्दर्भ, अलौकिकताको सिर्जना, शक्ति असन्तुलन, सत्ताप्रति प्रश्न, प्रतीकात्मकता प्रस्तुत गर्न सफल भएकाले यो नाटक स्वैरकाल्पनिक बन्न पुगेको निष्कर्ष यस अध्ययनको रहेको छ ।