आठहजारी साइँली गीतमा आलङ्कारिक सौन्दय
DOI:
https://doi.org/10.3126/academia.v4i2.82976Keywords:
उपमा, अतिशयोक्ति, असङ्गति, काव्यलिङ्ग, विकस्वरAbstract
यो अनुसन्धानमूलक लेख साइँली गीतमा आलङ्कारिक सौन्दर्यको खोजीमा केन्द्रित रहेको छ । साइँली गीतलाई एकल रूपमा वा दोहोरीका रूपमा दुवै तरिकाले प्रस्तुत गरेको पाइन्छ । यो गीत सल्यान आठहजार क्षेत्रमा रहेका त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिका क्षेत्रमा बाह्रै महिना गाउने गरेको देखिन्छ । यस गीतको सङ्कलनका लागि क्षेत्रीय अध्ययन कार्य गरिएको छ भने गीतको विश्लेषणका लागि अलङ्कार सिद्धान्तको अध्ययन गर्न पुस्कालयीय कार्य गरिएको छ । गीतको विश्लेषण निगमनात्मक विधिको उपयोग गरिएको छ । अध्ययनका क्रममा यस क्षेत्रको साइँली गीत अलङ्कारिक सौन्दर्यका हिसाबले सशक्त रहेको पाइन्छ । साइँली गीतमा गङ्गा जल झैँ निश्चल मन भएको चर्चा गर्दै मन र गङ्गाका बिचमा सादृश्य सम्बन्ध निश्चल अवस्था देखाएको उपमा अलङ्कार र फूल रूपी सिस्नोलाई चिन्न नसक्नुको व्यञ्जनार्थमा उचित किसिमको प्रेमीलाई भ्रममा परेर चिन्न नसकेको वर्णन गरिएको भ्रान्तिमान् अलङ्कारले गीतलाई चमत्कारपूर्ण बनाएको देखिन्छ । यसै गरेर यस गीतमा श्रीमान् श्रीमतीको प्रेम, छुट्ने बेलामा प्रेममा देखिएको तीव्रता, उज्यालो नै नभइदिए हुन्थ्यो जस्ता प्रस्तुति भई प्रणय भावको उत्तरोत्तर उत्कर्ष देखाइएको सार अलङ्कारका साथै समर्थन भाव वेवास्ता गर्नु र समर्थनीय भाव चितामा जलेको हेर्नु जस्ता भाव देखा परेको काव्यलिङ्ग अलङ्कारको प्रयोगले गीतलाई आकर्षक बनाउने काम गरेको पाइन्छ । यसका साथै एउटा वस्तु प्रेम रोगको गुणबाट अर्को वस्तु रातमा निद्रा र दिउँसो भोक नलाग्नु दोषको चर्चा गरिएको उल्लास अलङ्कारका साथै सामान्य वस्तु युवायुवतीबिचको चिनजानको अवस्थामा समर्थनमाथि समर्थन गरेर युवतीप्रति युवक अत्यन्त आकर्षित हुनु र विवाहको अवस्थासम्म पुग्ने कुराको वर्णनमा जुनलाई ज्योति दिने घामको चर्चा गरिएको विकस्वर अलङ्कारको प्रयोगले गीतलाई सौन्दर्ययुक्त बनाएको भेटिन्छ । यस प्रकारको अलङ्कारिक सौन्दर्ययुक्त साइँली गीतको अध्ययनले लोकगीतका अध्येता तथा लोकसाहित्यमा अभिरुचि राख्ने व्यक्तिहरू लाभान्वित हुने देखिन्छ ।