नेपाली साहित्यमा गुणात्मक अनुसन्धान
Keywords:
गुणात्मक अनुसन्धान, नेपाली साहित्य, पाठविश्लेषण, समालोचना पद्धति, अनुसन्धान ढाँचा, ज्ञानमीमांसाAbstract
प्रस्तुत लेख नेपाली साहित्य–अनुसन्धानमा गुणात्मक अनुसन्धान पद्धतिको प्रयोग, यसको सैद्धान्तिक आधार तथा अनुसन्धानगत उपयोगिताको अध्ययनमा केन्द्रित छ । साहित्यिक कृतिहरूको अध्ययन मुख्यतः अर्थ, अनुभूति, प्रतीक, सन्दर्भ तथा सांस्कृतिक यथार्थको व्याख्यासँग सम्बन्धित हुने भएकाले नेपाली भाषा तथा साहित्यसम्बन्धी अनुसन्धानमा गुणात्मक उपागमको प्रयोग व्यापक रूपमा भएको पाइन्छ । यस अध्ययनमा पुस्तकालयीय अनुसन्धान विधि अवलम्बन गरी नेपाली र हिन्दी भाषामा प्रकाशित पुस्तक, शोधप्रबन्ध तथा अनुसन्धानात्मक लेखहरूको समीक्षात्मक विश्लेषण गरिएको छ । अध्ययनबाट साहित्यिक पाठको व्याख्यात्मक अध्ययन, प्रकरण अध्ययन, उद्देश्यपूर्ण नमूना छनोट, सैद्धान्तिक तथा वैचारिक ढाँचामा आधारित विश्लेषण, र पूर्वीय शोधदर्शनमा आधारित अनुसन्धान नेपाली साहित्य–अनुसन्धानमा प्रचलित प्रमुख गुणात्मक पद्धतिहरू रहेको निष्कर्ष प्राप्त भएको छ । साथै गुणात्मक अनुसन्धानको ज्ञानमीमांसीय आधार, तथ्यको विश्वसनीयता तथा वैधता सुनिश्चित गर्ने उपायहरू, र साहित्यिक अनुसन्धानमा देखापर्ने पद्धतिगत चुनौतीहरूको समेत परीक्षण गरिएको छ । अध्ययनले नेपाली साहित्य–अनुसन्धानमा गुणात्मक पद्धतिले साहित्यिक कृतिको बहुआयामिक अर्थनिर्माण तथा गहन व्याख्याका लागि प्रभावकारी आधार प्रदान गरेको देखाएको छ। निष्कर्षतः अनुसन्धानको गुणस्तर अभिवृद्धिका लागि स्पष्ट पद्धतिगत संरचना, बहुसैद्धान्तिक दृष्टिकोण तथा गुणात्मक र मिश्रित अनुसन्धान विधिको सन्तुलित प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।