दक्षिणपूर्वी सल्यानका लोकगीतमा विरोधमूलक अलङ्कार
Keywords:
विरोधाभास, विशेषोक्ति, विशेष, अधिक, व्याघात, अन्योन्यAbstract
यस लेखमा दक्षिणपूर्वी सल्यानी लोकगीतहरूमा प्रयोग भएका विभिन्न विरोधमूलक अलङ्कारहरूको विश्लेषण गरिएको छ । यहाँ वास्तविक विरोध नभई केवल विरोध भएको जस्तो आभास भएको विरोधाभास अलङ्कारयुक्त लोकगीत पाइएका छन् । जसमा बाहिरी अनुहारमा हाँसो देखिए पनि भित्री मनमा पीडा भइरहेको भाव व्यक्त भएको पाइएको छ । यसै गरी पर्याप्त कारण उपस्थित भएर पनि अपेक्षित कार्य नघट्ने असामान्य स्थिति चित्रण गरिएका विशेषोक्ति अलङ्कार पनि यहाँका लोकगीतमा पाइएका छन् । यहाँ विष खाएर पनि मृत्यु नभएको विशेषोक्ति अलङ्कारयुक्त लोकगीतको वर्णनले प्रेममा धोका, पीडा र आत्मविनाश हुन सक्ने सोचलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यस क्षेत्रकोे अधिक अलङ्कारयुक्त लोकगीतमा आधार रतिनानी र चिम्सेनानीलाई आधेय सूर्यका ज्योतिसँग रूपारोपित गरी अत्यधिक प्रधानता देखाइएको छ । विशेष अलङ्कारमा आधार बिना आधेयको वर्णन गरी असम्भवमा सम्भवको कल्पना गरिएको हुन्छ । यहाँ खैराबाङी माई भगवतीलाई पुत्रलाभ गराउने, निर्धालाई धन दिने र अन्धालाई ज्योति दिने असाधारण शक्ति भएकी देवीका रूपमा चित्रण गरिएको छ । यी अलङ्कारहरूको प्रयोगले लोकगीतहरूलाई केवल मनोरञ्जनात्मक नभई गहिरो भावनात्मक, दार्शनिक र सांस्कृतिक अर्थ दिएका छन् ।