पर्याप्रेमको गुञ्जनमा पर्यावरणीय चेतना
DOI:
https://doi.org/10.3126/ajos.v5i1.81993Keywords:
गुञ्जन, चेत, पर्यावरण, पर्यावरणवाद, वातावरणीयAbstract
यस अनुसन्धानात्मक लेखमा कृष्ण बाउसेको कवितासङ्ग्रह पर्याप्रेमको गुञ्जनमा सङ्गृहीत कविताहरूको पर्यावरणीय चेतनाका दृष्टिले अध्ययन गरिएको छ । पर्यावरणीय चेतना साहित्यमा पर्यावरणको चित्रण के कसरी गरिएको छ भन्ने कुराको खोजसँग सम्बन्धित अवधारणा हो । यो सिद्धान्त प्रकृतिको संरक्षणसँग जोडिएको छ । यस अध्ययनमा पर्याप्रेमको गुञ्जनलाई विश्लेष्य कृतिका रूपमा लिइएको छ र यो प्राथमिक सामग्रीका रूपमा रहेको छ । पर्यावरणीय चेतनाका सम्बन्धमा लेखिएका लेख तथा पुस्तकहरू द्वितीयक सामग्रीका रूपमा रहेका छन् । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । कविताको अध्ययनबाट प्राप्त तथ्यका आधारमा पर्यावरणीय चेतनाका प्रकार निर्धारण गरिएकाले यहाँ आगमनात्मक विधि प्रयोग भएको छ । जुन कवितामा जुन प्रकारको पर्यावरणीय चेत देखाइएको छ त्यसको पुष्टिका लागि कविताबाट साक्ष्य प्रस्तुत गरिएको छ । प्रस्तुत सङ्ग्रहका कवितामा पर्यावरणीय चेत केकस्तो देखिन्छ भन्ने मुख्य समस्याको समाधानमा केन्द्रित यस अध्ययनमा दूषित पर्यावरणको सर्वत्र असर परेकामा चिन्ता, प्रकृति र मानवका बिच सहअस्तित्वको अपेक्षा, प्रकृति विनाशकप्रति व्यङ्ग्य, पर्याप्रेम र पर्यावरण संरक्षणप्रतिको प्रतिबद्धता एवं मानवेतर प्राणीसँगको सहअस्तित्वबोधको चेत पाइने र यिनका आधारमा हेर्दा कृति पर्यावरणमा नै केन्द्रित रहेको अनि पर्यावरणीय चेतनाका दृष्टिले प्रभावकारी तथा उल्लेखनीय भएको निष्कर्ष निकालिएको छ । यसका साथै सङ्ग्रहका कविताहरूले समस्याको मुख्य कारक मानिस भएको र यसको समाधान पनि मानिसले नै गर्न सक्ने भएकाले मानिस सकारात्मक भएर पर्यावरण संरक्षणमा लाग्नुपर्ने सन्देश दिएको कुरालाई पनि निष्कर्षका रूपमा देखाइएको छ ।