पूर्वीय षड्दर्शन दर्शनमा तत्त्वमीमांसा
Keywords:
अद्वैत, ज्ञानमीमांसा, तत्त्वमीमांसा, मूल्यमीमांसा, षड्दर्शनAbstract
जीवन र जगत्का बिचको अन्तःसम्बन्धको यथार्थपरक विवेचना गरिएका संस्कृत वाङ्मयभित्रका दर्शनहरू नै पूर्वीय दर्शन हुन् । पूर्वमा वेद‚ ब्राम्हण‚ आरण्यक तथा उपनिषद्देखि नै जीवन र जगत्का बारेमा विमर्श गरिँदै आएको पाइन्छ । यो वैदिक वाङ्मयपछि संस्कृतमा वेदलाई आधार मानेर योग‚ साङ्ख्य‚ न्याय‚ वैशेषिक‚ मीमांसा तथा वेदान्त आदि दर्शनको विकास भएको छ । यी दर्शनहरूमा पदार्थ जगत्‚ आत्मा‚ चेतनाजस्ता तत्त्वहरूको मीमांसा कसरी गरिएको छ र यी दर्शनले ज्ञानको दिगो विकासमा कसरी योगदान पुर्याएका छन् भन्ने विषयमा यस लेखमा विमर्श गरिएको छ । ज्ञानका स्रोतका रूपमा रहेका वेदसँग सम्बन्धित भएर पनि यी छवटै दर्शनहरूले फरक फरक तत्त्वलाई दार्शनिक आधार बनाएका छन् । यी दर्शनहरू केकस्ता तत्त्वमीमांसामा केन्द्रित छन् र विश्वव्यापी ज्ञान निर्माणमा यिनीहरूको कस्तो योगदान रहेको छ भन्ने समस्यामा केन्द्रित रही यी दर्शनसम्बद्ध कृतिहरूको सूक्ष्म पठन गर्दा साङ्ख्य दर्शनमा प्रकृति र पुरुषसहित पच्चिस तत्त्वको, योगदर्शनमा यी तत्त्वहरूसहित पुरुषविशेषलाई थपी छब्बिस तत्त्वको, न्याय दर्शनमा सोह्र पदार्थको, वैषेशिक दर्शनमा सात पदार्थका साथै परमाणुवादको, मीमांसा दर्शनमा आठ तत्त्वसहित आत्माको नित्यत्व एवम् सर्वगतत्त्वको तथा वेदान्त दर्शनमा परब्रह्मलाई सत्य मान्ने ब्रह्मवादको तत्त्वमीमांसा गरिएको निष्कर्ष प्राप्त भएको छ । पूर्वीय दर्शनमा तत्त्वमीमांसा गरिएका यी तत्त्वहरूले मानवजीवन तथा सृष्टि प्रक्रियाका बारेमा गम्भीर व्याख्या गरी विश्वव्यापी भौतिक तथा आध्यात्मिक ज्ञानको आविष्कारमा विशिष्ट भूमिका खेले पनि अहिले यी दर्शनलाई केही मात्रामा कर्मकाण्डीय साम्प्रदायिक चिन्तनका रूपमा व्याख्या गर्नाका साथै जीवनजगत्का वस्तुयथार्थका विश्लेषणका लागि पश्चिमी ज्ञान एवम् दर्शनलाई महत्त्व दिने प्रवृत्तिको विकास भएको छ । वस्तुतः जीवनजगत्को तथ्यगत विवेचना पूर्वीय आस्तिक दर्शनमा सूक्ष्मरूपमा भएको र ज्ञाननिर्माणमा यी दर्शनहरूको विशेष भूमिका रहेको हुनाले ज्ञानको दिगो विकासका लागि यी दर्शनहरूको अध्ययन तथा विश्लेषण गर्न अपरिहार्य रहेको निष्कर्ष यस लेखबाट प्राप्त भएको छ ।