पञ्चतत्त्वको पालाम कवितासङ्ग्रहमा पर्यावरण र आदिवासी सहअस्तित्व
DOI:
https://doi.org/10.3126/apara.v5i1.84121Keywords:
आदिवासी अधिकार, किरात संस्कृति, पारिस्थितिकीवाद, वातावरणीय न्याय, सांस्कृतिक मूल्यAbstract
कवि मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’ कवितासङ्ग्रहका आधारमा पर्यावरणीय सङ्कट र आदिवासी अस्तित्वको अन्तर्सम्बन्धलाई विश्लेषण गर्नु यस शोधकार्यको उद्देश्य रहेको छ । यस कवितासङ्ग्रहमा आकाश, वायु, अग्नि, जल र पृथ्वी जस्ता प्रकृतिजन्य पञ्चतत्त्वका आधारमा विषयविभाजन गरी किरात–आदिवासी मिथक, संस्कृति र प्रकृतिसँगको सम्बन्ध उजागर गरिएको छ । आदिवासी प्रकृतिपूजक जाति भएकाले उनीहरूका ज्ञान, संस्कृति र व्यवहार पर्यावरणअनुकूल हुने गर्दछन् । त्यसैले पर्यावरणीय सङ्कटसँग उनीहरूको सांस्कृतिक अस्तित्व अन्तर्सम्बन्धित हुन्छ । यस कुराको काव्यात्मक अभिव्यक्ति यस कृतिमा पनि पाइन्छ । त्यसैले ‘पञ्चतत्त्वको पालाम’ कवितासङ्ग्रहमा पर्यावरणीय सङ्कट र आदिवासी अस्तित्वको मुद्दालाई कसरी प्रस्तुत गरिएको छ भन्ने समस्याको समाधानमा केन्द्रित भएर यो शोधकार्य गरिएको छ । यस समस्याको समाधानका लागि पर्यासमालोचना र आदिवासी अध्ययनको सिद्धान्तलाई आधार बनाएर आदिवासी ज्ञान, संस्कृति र अभ्यासको सम्मान, पश्चिमी आधुनिकताको आलोचना, पर्यावरणीय विनाशप्रति चिन्ता, उत्तरउपनिवेशवादी दृष्टिकोण, मिथकको पुनर्लेखन, भूमिअस्तित्वको सम्बन्ध, अधिकार र वातावरणीय न्याय जस्ता छ वटा प्रमुख विषयको पाठविश्लेषणात्मक अध्ययन गरिएको छ । त्यसका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय कार्य र इन्टरनेटबाट गरिएको छ भने तथ्यहरूको खोजी विश्लेष्य कवितासङ्ग्रहको गहन पठनबाट गरिएको छ । यसरी गरिएको शोधकार्यका आधारमा यस कवितासङ्ग्रहमा स्थानीय आदिवासी विषय, विम्ब र प्रतीकका माध्यमबाट उनीहरूको जीवनको सांस्कृतिक सङ्कट, प्रकृतिको असन्तुलन र वातावरणीय समस्यालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । नेपाली साहित्यमा पर्यावरण र आदिवासी चेतनाको समुचित अन्तर्सम्बन्धमा केन्द्रित गहन अध्ययन हुन नसकेको अवस्थामा यो कृति र अध्ययन विशेष महत्त्वपूर्ण रहेको छ । यस अध्ययनले आदिवासी सङ्कटको स्थानीय अनुभवलाई समकालीन साहित्यिक विमर्शमा स्थापित गराउने प्रयाससहित वातावरणीय तथा सांस्कृतिक विषयमा संयुक्त विमर्श सम्भव रहेको देखाएको छ ।