उत्तरवर्ती नेपाली कवितामा परम्परित संस्कृतिपरक अन्तर्विषयकता
DOI:
https://doi.org/10.3126/apara.v5i1.84123Keywords:
जनजाति, नैसर्गिकता, प्रतिरोधी संस्कृति, बहुलचेतना, मृत्युसंस्कारAbstract
प्रस्तुत आलेखमा परम्परित संस्कृति अन्तर्विषय बनेर आएका केही प्रतिनिधिमूलक उत्तरवर्ती नेपाली कवितालाई पाठका रूपमा लिई ती कवितामा प्रयुक्त परम्परित संस्कृतिका आर्य, जनजातीय र दलित संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर अन्तर्विषयकताको निरूपण गरिएको छ । यसक्रममा साठीको दशकयता प्रकाशित कविताकृतिभित्र समावेश भएका परम्परित संस्कृतिसँग सम्बद्ध प्रतिनिधिमूलक कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त परम्परित संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस अनुसन्धान लेखको उद्देश्य हो । अन्तर्विषयक सिद्धान्तका व्याख्याता जुली थम्प्सन क्लेइनको एउटा विषयसँग सम्बद्ध भएर अन्य विषयहरूको प्रवेश हुनु नै अन्तर्विषयकता हो र त्यसले मूल विषयलाई अझ प्रभावकारी बनाउँछ भन्ने सैद्धान्तिक मान्यतालाई आधार बनाई यो लेख सम्पन्न गरिएको छ । यसमा चयनित कविताहरूको विश्लेषणका लागि परम्परित संस्कृतिपरक अन्तर्विषयकताका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । त्यसका निम्ति परम्परित संस्कृतिअन्तर्गत आर्यसंस्कृति, जनजातीय संस्कृति र दलित संस्कृतिजस्ता तीनवटा सूचकलाई अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छ । उत्तरवर्ती नेपाली कवितामा कविताको मूल विषयसँगै आएको संस्कृतिपरक अन्तर्विषयकताको प्रयोगले कवितालाई विषयगत व्यापकता र वैचारिक गम्भीरता प्रदान गरेको निष्कर्ष यसमा निकालिएको छ ।