अर्की आइमाई उपन्यासमा डायस्पोरा चेतना
DOI:
https://doi.org/10.3126/apara.v5i1.84128Keywords:
अल्पसङ्ख्यक, इच्छितभूमि, एकतासूत्र, डायस्पोरा, सांस्कृतिक पहिचानAbstract
अर्की आइमाई उपन्यास नीलम कार्की निहारिकाको पहिलो डायस्पोरिक उपन्यास हो । यस उपन्यासमा घरदेश छोडेर परदेश अमेरिकामा बसोबास गर्ने नेपालीहरूको डायस्पोरा चेतनाको खोजी गरिएको छ । आफ्नो संस्कृति, समाज, भूगोल र भाषाप्रतिको आकर्षणका साथै विदेशी भूमिमा भोगेका केही पीडादायी अनुभूतिजन्य क्षणका जीवन्त विवरणहरू उपन्यासमा पाइन्छन् । प्रस्तुत अध्ययनका लागि पुस्तकायकार्यबाट सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । यहाँ “अर्की आइमाई” उपन्यासलाई प्राथमिक स्रोतको रूपमा उपयोग गरिएको छ र यस अध्ययनसँग सम्बद्ध सैद्धान्तिक पुस्तकहरू, अनुसन्धानमूलक लेखहरू द्वितीय स्रोतका सामग्रीका रूपमा प्रयोग गरिएको छ । उपन्यासमा पाइने पुख्र्यौली भूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पङ्ख्यक हुनुको पीडा, परादेशीय हुनुको रोमाञ्च र पीडा, एकतासूत्रको खोजी, अतीतमोह जस्ता तथ्यहरूका आधारमा सङ्कलन गरिएका प्रमाणलाई विश्लेषणात्मक पद्धतिको अवलम्बन गरिएको छ । उपन्यासकी केन्द्रीय पात्र तरू अमेरिकामा बस्ने नेपाली जीवनका भोक्ता र द्रष्टा बनेर उपस्थित छ । यसका साथै उपन्यासमा चित्रित हरेक पात्रहरूका परादेशका भोगाइ, अनुभूति र गृहस्मृतिलाई विषय बनाइएको छ । यस उपन्यासका हरेक पात्रका गतिविधि र तिनका जीवनका अनुभवहरूमा डायस्पोरा चेतना र मूल्य प्रबल देखिन्छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।