जयराज भट्टराईको फ्राइडे कन्फ्यूजनमा सामयिक चेतना
DOI:
https://doi.org/10.3126/dcj.v14i1.89309Keywords:
चेतना, भावात्मक, भ्रष्टीकरण, मनोवृत्ति, युद्ध, सिंहावलोकन, सामयिकAbstract
प्रस्तुत आलेखमा कथाकार जयराज भट्टराईको कथा सङ्ग्रह ‘फ्राइडे कन्फ्युजन’भित्रका कथामा सामयिक चेतनाको खोजी गर्ने उद्देश्य राखिएको छ । यो आलेख तयार गर्न पुस्तकालयीय पद्धतिमा केन्द्रित रहेर गुणात्मक अध्ययन र व्याख्यान पद्धतिको अनुसरण गरिएको छ । खासगरी आजको नवीन सोच र चिन्तनको परिप्रेक्ष्यमा कथाहरूले कसरी सामयिक चेतना प्रस्तुत कुराको खोजी कथामा गरिएको छ । उत्तरआधुनिक चेतमा रहेर लेखकले समयलाई कथामा कसरी प्रवेश गराएका छन् भन्ने ध्येय यसमा छ । वर्तमान परिवेशमा युवापुस्ता वैदेशिक रोजगारीका नाममा देश छाड्न बाध्य छ । विदेशमा अनेकौँ हण्डर, ठक्कर खाएर पनि घरका लागि जागिरमा बस्न विवश छ । देशभित्रै पनि सत्ताको राजनीति गर्नेहरूले सर्वसाधारणलाई अनेकौँ प्रलोभन देखाएर सत्ता हत्याइरहेका छन् । ज्येष्ठ नागरिकहरूका आफ्नै समस्याहरू छन् । गरिबीको चपेटामा परेका श्रमजीवीका समस्याहरू छन् । देशभित्र पनि श्रमजीवीहरू नै पीडामा छन्, विदेशमा पनि श्रमजीवीहरू नै पीडामा छन् । सहरमा पनि उनीहरू नै पीडामा छन् । गाउँमा पनि उनीहरू नै पीडामा छन् । तिनै पीडैपीडाका अनन्त शृङ्खलाहरू कथाकार भट्टराईका ‘फ्राइडे कन्फ्युजन’ संग्रहका कथाभित्र समेटिएका छन् । तिनै कथामा भेटिएका समस्याहरू युगीन चेतनामा विचार सम्प्रेषण गर्न कति सबल र सफल छन् भन्ने कुराको खोजी यहाँ भएको छ । सबैजसो कथाका मूलपात्रहरू उपल्ला पात्रहरूको सिकार भएका छन् । आफ्नै कार्यालयको हाकिम, काम लगाउने मान्छे, काम दिने कम्पनी, टाठो छिमेकी, आफ्नै श्रीमान्, धूर्त राजनेता आदि जस्ताहरूबाट आफ्नै मातहतको सानो मान्छे सिकार भएको छ । आर्थिक जटिलताबाट पीडित भएकाहरू त्यसका विरुद्धमा सशक्त एकजुट भएर प्रतिकार गर्नसक्ने अवस्था कतै बन्न सकेको छैन । विद्रोह गरेर परिवर्तन गर्ने भन्दा पनि अवस्थाको चित्रण गर्ने भावात्मक युद्ध भएका यस सङ्ग्रहका कथाले सामयिक चेतना प्रस्तुत गरेका छन् ।