स्नातक तहको सेमेस्टर प्रणालीमा विद्यार्थीहरूको अपेक्षा, क्याम्पसको वातावरण र रोजगारदाताका आवश्यकताबीचको सहसम्बन्ध: एक गुणात्मक अध्ययन
Keywords:
सेमेस्टर प्रणाली, विद्यार्थीहरूको अपेक्षा, उच्चशिक्षा सुधार, उद्योगको आवश्यकता, रोजगारीको योग्यता, गुणात्मक विश्लेषण।Abstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपालको पश्चिम तराई क्षेत्रमा सञ्चालित सेमेस्टर प्रणालीमा आधारित स्नातक तहका कार्यक्रमहरूमा विद्यार्थीहरूको शैक्षिक अपेक्षा, शिक्षण संस्थाका प्रावधानहरू र रोजगार बजारको मागबीचको सम्बन्धात्मक अन्तरको विश्लेषण गरिएको छ। यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको थियो। विद्यार्थीहरू, क्याम्पस प्रशासकहरू र स्थानीय रोजगारदाताहरूका तीनवटा समूह केन्द्रित छलफल (FGDs) सञ्चालन गरिएको थियो भने सातजना मुख्य सूचनादाताहरूसँग अन्तर्वार्ता (KIIs) लिइएको थियो। विषयगत सन्तृप्तता (Data Saturation) हासिल भए पश्चात तथ्याङ्क सङ्कलन कार्य रोकी प्राप्त भएका सामग्रीको विषयगत विश्लेषण गरिएको थियो। अध्ययनको निष्कर्षबाट क्याम्पसहरू र विद्यार्थीहरूको अपेक्षाबीच पञ्चवटा मुख्य चुनौतीहरू उजागर गरिएको छ। पहिलो, पाठ्यक्रम शिक्षण विधि र विद्यार्थीहरूको अपेक्षाबीच तालमेल मिल्न नसकेको देखिन्छ। दोस्रो, सहपाठ्य क्रियाकलाप र तालिम कार्यक्रमहरूप्रति विद्यार्थीहरूको व्यापक असन्तुष्टि देखिएको छ। तेस्रो, शिक्षक शिक्षण र क्याम्पस प्रशासनका गतिविधिहरूमा विद्यार्थी सहभागिताको कमी देखिएको छ। चौथो, विद्यार्थीहरूले क्याम्पसमा प्राप्त गरेका शैक्षिक ज्ञान र उद्योगहरूको व्यावहारिक आवश्यकताबीच स्पष्ट खाडल रहेको हुँदा स्नातकहरू रोजगारीका लागि आवश्यक सीपको अभाव देखिएको छ। पाँचौँ, शिक्षणको गुणस्तरमा भौतिक तथा प्राविधिक पूर्वाधार सुधारले न्यूनतम प्रभाव मात्र पारेको देखिन्छ। उच्च शिक्षामा सुधार ल्याउन पाठ्यक्रम परिमार्जन, अन्तरक्रियात्मक सिकाइ, शैक्षिक संस्था–उद्योग सहकार्य र सहयोगात्मक क्रियाकलापको पुनर्संरचना गर्नु पर्ने निष्कर्ष यस अध्ययनले प्रस्तुत गरेको छ।