राष्ट्रकवि घिमिरेको ‘अश्वत्थामा’ गीतिनाटकमा अलङ्कार–सौन्दर्य Rashtrakavi Ghimireko 'Ashwatthama' Geetinatakma Alankar-saundarya

  • गुरुप्रसाद Guruprasad कोइराला Koirala पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University
Keywords: अश्वत्थामा गीतिनाटक, अलङ्कार सौन्दर्य, सादृश्य, उपमान, उपमेय, अश्वत्थामा गीतिनाटक, अश्वत्थामा गीतिनाटक Ashwatthama Geetinatak, अलङ्कार सौन्दर्य Alankar saundarya, उपमेय Upameya, उपमान Upaman

Abstract

राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्य परम्परामा सुपरिचित काव्यस्रष्टा हुन् । कवि घिमिरे पौरस्त्य शास्त्रीय छन्दमा मात्र नभएर नेपाली लोकछन्दमा समेत काव्य सिर्जना गर्न उत्तिकै सिद्धहस्त छन् । कवि भावप्रधान कवितामा पनि कलापक्षप्रति सचेत देखिन्छन् । यिनका कविताको कलापक्ष पौरस्त्य साहित्यशास्त्रबाट निर्देशित रहेको पाइन्छ । काव्यका विभिन्न प्रकारमा कलम चलाउने घिमिरे विशेषतः खण्डकाव्य र गीतिनाटक क्षेत्रमा बढी क्रियाशील देखिन्छन् । सामाजिक, ऐतिहासिक र पौराणिक कथावस्तुमा आधारित यिनका गीतिनाटकमा लोकलय र वर्णमात्रिक अनुष्टुप् छन्दको प्रयोग गरिएको पाइन्छ । गीतिनाटक मध्ये पौराणिक पात्रलाई वर्तमान युगसापेक्ष बनाएर प्रस्तुत गरिएको अश्वत्थामा गीतिनाटक नेपालबाट नोवल पुरस्कारका लागि छनौटमा परेको उत्कृष्ट कृति हो । अश्वत्थामाको महाभारतकालीन पौराणिक मिथकलाई यस कृतिको विषयवस्तु बनाइएको छ । अश्वत्थामा सम्बन्धी आफ्नो बाल्यकालीन सम्झना, दन्त्यकथा र लोकविश्वासलाई आधार बनाई प्रस्तुत गरिएको अश्वत्थामाको दुःखद् र अशान्त चरित्रका माध्यमबाट हिंसातर्फ उन्मुख अहिलेको विश्वलाई हिंसाको परिणाम भयानक हुने तथ्य प्रस्तुत गरी शान्तिको बाटो देखाउने प्रयास गरिएको छ । काव्यको उच्च उद्देश्य र गम्भीर भावलाई उपमादि अलङ्कारहरूले अझ बढी सम्प्रेष्य बनाएका छन् । अलङ्कारको सामान्य अर्थ सजाउने साधन हो । लोकव्यवहारमा सचेत मानिसले आफ्नो शरीर वा आफूले प्रयोग गर्ने वस्तुलाई आकर्षक र ग्राह्य बनाउन गरगहना आदिले सजाउने गर्दछन्, त्यस्तै काव्यलाई पनि रमणीय र ग्राह्य बनाउन प्रतिभावान् काव्यसर्जकहरू उपमादि अलङ्कारमा चासो राख्दछन् । पौरस्त्य काव्यपरम्परामा अलङ्कार बौद्धिकता प्रदर्शनको माध्यम बन्न थालेपछि भाव अप्रधान हुन गई काव्यबाट वास्तविक प्रयोजन सिद्ध नहुने महसुस गरेर काव्यशास्त्रीहरूले काव्यमा अलङ्कार–विधानलाई केही नियमन गरेको पाइन्छ । उनीहरूका विचारमा काव्य भावप्रधान हुन्छ, अलङ्कारहरू भावसँग मैत्री सम्बन्धले सहज रूपमा समावेश भए मात्र काव्य–सौन्दर्य बढाउन सक्छन्, अतः पृथक् प्रयत्नविना सहज रूपमा समाविष्ट अलङ्कार मात्र सत् काव्यका लागि स्वीकार्य हुन्छन् । अश्वत्थामा कृतिका गीतिनाटककार कवि घिमिरेले यही मान्यतालाई आत्मसात् गरेको पाइन्छ । यस काव्यमा सुशोभित अलङ्कारहरूले भावलाई आच्छादन गरेर कविको वाक्विलास प्रदर्शन नगरी तिनको सहज उपस्थितिले भावलाई सुबोध्य बनाउन सहयोग पु¥याएका छन् । युद्धले सन्त्रस्त विश्वलाई शान्तिको मार्ग देखाउने उद्देश्य राखी रचना गरिएको अश्वत्थामा गीतिनाटकमा रौद्र, वीर, करुण, शान्त रसको प्रयोग भएको छ । यिनै रसलाई बढी आस्वाद्य बनाउन काव्यमा अनुृप्रासादि शब्दालङ्कार र उपमा, उत्प्रेक्षा, रूपक, अर्थान्तरन्यास, अतिशयोक्ति, जस्ता अर्थालङ्कारको उपस्थिति रहेको पाइन्छ । यिनै अलङ्कारहरूले सिर्जना गरेको काव्यसौन्दर्यको अनुशीलन नै यस लेखको विषयवस्तु बनेको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
pdf
6

Author Biography

गुरुप्रसाद Guruprasad कोइराला Koirala, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University

सहप्राध्यापक Associate Professor

Published
2019-12-31
How to Cite
कोइराला Koiralaग. G. (2019). राष्ट्रकवि घिमिरेको ‘अश्वत्थामा’ गीतिनाटकमा अलङ्कार–सौन्दर्य Rashtrakavi Ghimireko ’Ashwatthama’ Geetinatakma Alankar-saundarya. Dristikon: A Multidisciplinary Journal, 9(1), 146-162. https://doi.org/10.3126/dristikon.v9i1.31184
Section
Articles