खस मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइ
DOI:
https://doi.org/10.3126/irj.v3i2.79491Keywords:
अल्पप्राण–महाप्राण, उच्चारण, खस भाषा, ध्वनि विपर्यास, भाषा सिकाइ, वर्णविन्यास, सघोष–अघोषAbstract
प्रस्तुत लेख खस मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइमा खस भाषाको प्रभावको अध्ययनमा केन्द्रित छ । यो लेख गुणात्मक अनुसन्धानअन्तर्गत परिघटनामूलक ढाँचामा आधारित छ । यसमा खस भाषा बोलिने कालीकोेट जिल्लाअन्तर्गत खाँडाचक्र नगरपालिकामा रहेका तिन ओटा विद्यालयमा अध्ययनरत कक्षा आठका विद्यार्थीहरूलाई उद्देश्यमूलक नमुना छनोट विधिबाट छनोट गरी उनीहरूको उच्चारण र वर्णविन्यास (लेखाइ) मा खस भाषाले पारेको प्रभावको अध्ययन गरिएको छ । विद्यार्थीहरूलाई ‘अल्पप्राण–महाप्राण’ को प्रयोग, ‘सघोष–अघोष’ को प्रयोग, ‘ए–य’ को प्रयोग, शब्दमध्य र शब्दान्तमा ‘ह’ को प्रयोग, पञ्चम् वर्ण ‘ण’ को प्रयोग, ‘ऋ’ कार र ‘र्’ कारको प्रयोग भएका शब्दहरूको उच्चारण गर्न लगाई उच्चारणमा खस भाषाको प्रभाव तथा उच्चरित शब्दहरूलाई श्रुतिलेखन गराई विद्यार्थीहरूको वर्णविन्यास (लेखाइ) पनि हेरिएको छ । विद्यार्थीको उच्चारण हेर्दा विद्यार्थीहरूले महाप्राणलाई अल्पप्राण, सघोषलाई अघोष, ‘ण्’ पञ्चम् वर्णको ‘न्’ उच्चारण, शब्दमध्य र शब्दान्तमा ‘ह’ को लोप, ऋकार र रकारको रेफगत उच्चारण, ‘र्’ र ‘ल्’ को ध्वनि विपर्यासगत उच्चारण देखिन्छ भने उच्चारणगत प्रभाव वर्णविन्यास (लेखाइ) मा पनि देखिएको छ । यस लेखमा विद्यार्थीहरूको उच्चारण तथा वर्णविन्यासमा देखिएका विशिष्टताहरू खस भाषाका विशेषता भएकाले खस मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइमा खस भाषाको प्रभाव परेको निष्कर्ष निकालिएको छ । यस लेखबाट नेपाली भाषाशिक्षक, मातृभाषी तथा खस भाषी अध्येता तथा समग्र भाषाशिक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।