आठहजारी रत्यौली गीतमा काव्यात्मक सौन्दर्य
Keywords:
रत्यौली, सौन्दर्य, शृङ्गार, अलङ्कार, प्रतीकAbstract
यस अनुसन्धानमूलक लेखमा आठहजार क्षेत्रको रत्यौली गीतमा काव्यात्मक सौन्दर्यको खोजी गर्ने काम गरिएको छ । आठहजार क्षेत्र सल्यान जिल्लाको कपुरकोट गाउँपालिका र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाभित्र पर्दछ । यस क्षेत्रमा प्रचलित रत्यौली गीत विवाहका अवसरमा दुलाहका घरमा महिलाहरू मात्र जम्मा भएर नृत्यका साथमा गाउने गरेको पाइन्छ । यस नृत्य गीतमा पुरुषका कपडाहरू पहिरिएर गोसाइँ बनेका महिलाहरूले उपस्थित अन्य महिलाहरूलाई नृत्य स्थलमा ल्याएर प्रेमीप्रेमिकाले गर्ने अनेक क्रियाकलापको अभिनयका साथ गीतको प्रस्तुति गरेको भेटिन्छ । यस लेखमा रत्यौली गीतको सङ्कलनका लागि स्थलगत कार्यअन्तर्गत प्रश्नोत्तर विधि र सैद्धान्तिक सामग्रीको सङ्कलनका लागि पुस्तकालयीय कार्य तथा इन्टरनेट (विद्युतीय माध्यम) को सहायता लिइएको छ भने सामग्री विश्लेषणका लागि आधुनिक वैज्ञानिक पद्धति विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस गीतमा अन्तर्निहित मनोरञ्जनात्मक पक्ष, ˘ाृङ्गारिक सौन्दर्य, आलङ्कारिक चमत्कार र प्रतीकात्मकता–जस्ता काव्यात्मक सौन्दर्यको प्राप्ति नै यस अध्ययनको परिणाम हो । यसैमा केन्द्रित भएर यसको अध्ययन गरिएको छ । रत्यौली गीतको मूल उद्देश्य नै मनोरञ्जन प्रदान गर्नु रहेको पाइन्छ । रत्यौली गीतका कतिपय पङ्क्तिमा अन्य महिलालाई आलोपालो गर्दै गीतको अर्थका आधारमा कहिले अँगालो हाल्न, कहिले चुम्बन गर्न, कहिले यौन सम्पर्क गर्न गोसाइँलाई आदेश गरेको पाइन्छ भने कतिपय पङ्क्तिमा दुलहीका परिपुष्ट स्तन, शरीर जिरिङ्ङ पार्ने हिप, आकर्षक छिनेको कम्मर आदिको वर्णन गरेको देखिन्छ । केही पङ्क्तिमा भने दुलाह दुलहीले रातभरि नसुतेर यौनक्रीडा गरेको र यौनरसले यौनाङ्ग छताछुल्ल भएको वर्णन गरेर सुन्दर ˘ाृङ्गारिक सौन्दर्य प्रस्तुत गरेको भेटिन्छ । यस गीतमा आजका दुलाह दुलही भोलि एकै जिउ अर्थात् यौनक्रीडामा लिप्त हुने कुराको अनुमान गरिएको अनुमान अलङ्कार, दुलही विवाह मण्डपमा आउनु अगाडि ˘ाृङ्गारका सामग्रीहरू पहिरिएको हुन सक्ने सम्भाव्य कार्यकारण सम्बन्ध देखाइएको सम्भावना अलङ्कार र अश्लीलताका कारण उपमेय पुरुष यौनाङ्गलाई छाडेर उपमान लाँखुरीको बोटलाई क्रियाशील बनाई कार्य सम्पन्न गरेको परिणाम अलङ्कारको प्रयोग गरेर गीतलाई हृदयस्पर्शी, रागात्मक एवम् सौन्दर्यपूर्ण बनाएको देखिन्छ । यस रत्यौली गीतमा पुरुष यौनाङ्गको प्रतीकका रूपमा लठ्ठीलाई, महिला यौनाङ्गको प्रतीकका रूपमा साडीलाई, सुन्दर स्तनको प्रतीकका रूपमा सुन्तलालाई र यौनीको प्रतीकका रूपमा पाउरोटीलाई वर्णन गरेको पाइन्छ । यस प्रकारको प्रतीकका प्रयोगले गीतलाई आकर्षक एवम् मर्मस्पर्शी बनाएको भेटिन्छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Dambar Bahadur Pun, Dawa Sherpa, Krishnaraj Dhakal

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.