समालोचनात्मक शिक्षणसम्बन्धी विचारहरूमा पाइने मतमतान्तरहरूको समालोचनात्मक समीक्षा
"A Critical Review of Debates and Divergences within Critical Pedagogy"
DOI:
https://doi.org/10.3126/irj.v4i1.79645Keywords:
समालोचनात्मक शिक्षण, लोकतान्त्रिक शिक्षण–सिकाइ, रूपान्तरण, अभ्यास, सचेतना, सामाजिक न्याय, समता, समावेशिताAbstract
समालोचनात्मक शिक्षणशास्त्र दर्शनमा आधारित एक शैक्षिक दृष्टिकोण हो, जसले विगतका दशकहरूदेखि शिक्षाका सिद्धान्त र अभ्यासहरूलाई प्रभाव पारिरहेको छ । विशेष गरी हालका वर्षहरूमा यसले विद्यालय र विश्वविद्यालयको शिक्षण–सिकाइ प्रक्रियामा महत्वपूर्ण स्थान ओगटेको देखिन्छ । तर, २१औँ शताब्दीमा समालोचनात्मक शिक्षणशास्त्रलाई कसरी परिभाषित गर्ने र बुझ्ने भन्ने विषयमा शिक्षाविद्हरूमाझ एकमत छ कि मतमतान्तर छन्? भन्ने प्रश्न अझै स्पष्ट छैन । त्यसैगरी, समालोचनात्मक शिक्षणशास्त्रको आधारभूत जरा यसको प्रमुख प्रवर्तक फ्रेरेका विचार र अभ्यासहरूसँग अझै मेल खान्छ कि खाँदैन भन्ने विषय पनि अनिश्चिततामै रहेको देखिन्छ । यस सन्दर्भमा, प्रस्तुत अध्ययनको उद्देश्य ८० वटा सहकर्मी–समीक्षित अनुसन्धानात्मक लेखहरूको समालोचना गरी समालोचनात्मक शिक्षणशास्त्रका अवधारणाहरू, परिभाषा, सिद्धान्तहरू, र यसको प्रमुख आधारहरूको समीक्षात्मक विश्लेषण गर्नु हो । साथै, यस अध्ययनले फ्रेरेका रूपान्तरण, चेतनशीलता, लोकतान्त्रिक शिक्षण–सिकाइ क्रियाकलापजस्ता अवधारणाहरू र हालैका साहित्यहरूमा उठेका विविध दृष्टिकोणबीचको सहमति वा असहमतिको विश्लेषण गर्न खोजेको छ । समीक्षामा आधारित निष्कर्षले देखाउँछ कि समालोचनात्मक शिक्षणशास्त्रका केही केन्द्रीय अवधारणामा विद्वान्हरूमाझ साझा सहमति पाइन्छ जस्तैः शिक्षा तटस्थ नभई राजनीतिक प्रक्रिया हो, सामाजिक रूपान्तरण आवश्यक छ, र अनुभवजन्य सिकाइ र संवाद शिक्षण प्रक्रियाका मूलभूत पक्ष हुन् । त्यसैगरी, उत्तरआधुनिक समालोचनात्मक दृष्टिकोणहरूले पनि यस दृष्टिकोणलाई गहिरो बनाउने कार्य गरेका छन् । यद्यपि, आधुनिकता र उत्तरआधुनिकताको बहस अझै विद्यमान छ र यसले सामाजिक रूपान्तरणको आवश्यकतालाई केन्द्रबिन्दुमा ल्याउने गरेको पाइन्छ । समीक्षित साहित्यहरूमा अभ्यास (प्राक्सिस) को अवधारणा भने प्रमुख मतभेदको विषयको रूपमा देखा परेको छ । तर, अभ्याससहितका अन्य अवधारणाहरू जस्तै रूपान्तरण, सचेतना, र लोकतान्त्रिक शिक्षण सिकाइ र्शीषकका बीच भने धेरै मतभेत देखिदैन् । यी सबै पक्षहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्, र कुनै पनि शिक्षण सिकाइ प्रक्रियालाई समालोचनात्मक बनाउने प्रयत्नमा यिनको संयोजन अपरिहार्य छ ।