प्राज्ञिक विशेषताका आधारमा कक्षा नौको भाषापाठ्यपुस्तक २०७९ को विश्लेषण
Keywords:
शब्दभण्डार, पाठ्यक्रम, प्राज्ञिकAbstract
प्रस्तुत अनुसन्धान कक्षा नौको प्राज्ञिक विशेषताको आधारमा परिमार्जित नेपाली भाषा पाठ्यपुस्तक (२०७९) को विश्लेषणसँग सम्बन्धित छ । गुणात्मक तथा वर्णनात्मक अनुसन्धान ढाँचामा आधारित यस अध्ययनमा उद्देश्यमूलक नमुना छनोट विधिमार्फत चयन गरिएका अनुभवी नेपाली भाषा शिक्षकहरूसँगको अन्तर्वार्ता र विभिन्न पाठ्यविषय तथा सम्बन्धित पाठ्यक्रम दस्तावेजहरूको गहन अवलोकन एवं विश्लेषणबाट प्राथमिक तथा द्वितीयक तथ्याङ्क सङ्कलन गरिएको छ । अध्ययनको निष्कर्ष अनुसार प्राज्ञिक दृष्टिले पाठ्यपुस्तकको विषयवस्तु छनोट, कार्यमूलक शब्दभण्डार, व्यावहारिक भाषा संरचना, नमुना अभ्यास, रङ्गीन चित्र र स्तरण सरलताबाट जटिलतातर्फ चक्रीय प्रणालीमा आधारित भई विद्यार्थीको भाषिक सिप विकास गर्न उपयोगी र प्रभावकारी पाइएको छ । साहित्यिक पाठमा लेखक परिचयको कटौती, कठिन शब्दभण्डार, साना अक्षर र व्याकरण शिक्षणका लागि समयको कमी जस्ता प्राज्ञिक चुनौतीहरू देखा परेका छन् । यसरी पाठ्यक्रमअनुकूल, विधागत रूपमा विविधता, सामान्यतः विद्यार्थीको तहअनुकूल पाठ्यवस्तुको सान्दर्भिकता, कठिन शब्द तथा भाषा संरचनाको तहअनुकूलत मौलिक तथा आलोचनात्मक अभ्यासको विस्तार आगामी पाठ्यपुस्तकमा सुधार गर्नुपर्ने पक्ष रहेको प्रस्तुत अध्ययनले देखाएको छ ।