उदार कक्षोन्नतिको आधारभूत तह (कक्षा १–३) मा कार्यान्वयनको अवस्था र यसले बालबालिकाहरुमा पारेको प्रभाव
Keywords:
उदार कक्षोन्नति, कार्यान्वयन, मैत्रीपूर्ण वातावरण, आधारभूत, अभिलेखAbstract
उदार कक्षोन्नतिको कार्यान्वयनको अवस्था, कार्यान्वयनले बालबालिकाहरुमा पारेको प्रभावको विश्लेषण गर्नु यो अध्ययन केन्द्रित गरिएको छ । उदार कक्षोन्नति नीति सैद्धान्तिक हिसावले ज्यादै राम्रो मानिएता पनि व्यावहारिक र विद्यालयको भौतिक सुविधा र व्यवस्थापनका कारण ८० प्रतिशत शिक्षकहरुले कार्यान्वयन गर्न सहज भएको बताए भने २० प्रतिशतले कठिन भएको बताएको पाइयो । अध्ययन क्षेत्रमा ९० प्रतिशत बालबालिकाले उदार कक्षोन्नतिका आधारभूत सूचक प्राप्त गरेर कक्षोन्नति गरेको, १० प्रतिशत विद्यार्थीहरुले आधार सूचकमा नपुगे पनि माथिल्लो कक्षामा कमी कमजोरी सुधार्ने गरी कक्षोन्नति गरेको पाइयो । कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने क्रममा ८५ प्रतिशत क्रियाकलापहरु बालमैत्री शिक्षण सिकाइका माध्यमद्धारा कक्षा १–३ मा प्रयोग गरेको पाइयो । उदार कक्षोन्नति नीति अभिभावकका दृष्टिले ७५ प्रतिशत राम्रो र २५ प्रतिशत नराम्रो रहेको बताएको पाइयो । कार्यान्वयन प्रक्रियामा व्यवस्थापकीय हिसाबले सन्तोषजनक रहको, विद्यार्थीका हरेक शैक्षिक अभिलेखका पक्षमा, शिक्षा विकास तथा समन्वय इकाई, गाउँ शिक्षा शाखा, प्रधानाध्यापक, वि.व्य.स. तथा अन्य सरोकारवाला संघसंस्थाहरुले समय समयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको पाइयो । उदार कक्षोन्नति प्रणालीलाई चुस्त दुरुस्त राख्न विद्यार्थीको व्यक्तिगत अभिलेख निरन्तर रुपमा तयार गरी राख्ने विद्यालय ५० प्रतिशत, मासिक रुपमा राख्ने २० प्रतिशत र बाँकी वार्षिक रुपमा राख्ने ३० प्रतिशत भएको पाइयो । उदार कक्षोन्नतिको नीतिलाई अति सकारात्मक भूमिका खेल्ने बनाउन, देखिएका कमीकमजोरीलाई सुधार गर्न सरोकारवाला निकायले पहल चाल्नु पर्ने साथै सरोकारवाला वीचमा मैत्रीपूर्ण वातावरण निर्माण गर्नु पर्दछ ।