मनः शान्ति आनन्दको अनुभूति
DOI:
https://doi.org/10.3126/jis.v14i1.88441Keywords:
मनः शान्ति, चित्त शुद्धि, इन्द्रिय निग्रह, आनन्दको अनुभूति, भक्तियोग, ध्यानयोग, ज्ञानयोगAbstract
प्रस्तुत लेख गुणात्मक अनुसन्धानमा आधारित छ । यस लेखमा मानव मनको स्वभावका बारेमा चर्चा गरिएको छ । मुख्यतः पुस्तकालयीय अध्ययनमा आधारित यस लेखमा मानव मनका सम्बन्धमा पूर्वका श्रीमद्भगवद्गीता र श्रीमद्भागवतम्जस्ता ग्रन्थमा व्यक्त गरिएको विचारका बारेमा विमर्श गरिएको छ । मानव मनलाई उल्लिखित ग्रन्थबाहेक पूर्वका अन्य शास्त्रीय ग्रन्थमा कुन रूपमा चित्रण गरिएको छ भन्ने कुराको समेत खुलासा प्रस्तुत आलेखमा गरिएको छ । मन नै मानवका हरेक क्रिया तथा प्रतिक्रियाहरूको जनक हो । एक हिसाबले भन्दा मन नै मानवको सुख र दुःखको जननी हो । तसर्थ मन शान्त हुँदा मानिसहरू दिव्य आनन्दको अवस्थामा रहन्छन् भने मन अशान्त हुँदा मानिसहरू बेचैनी वा तनावको अवस्थामा रहन्छन् । यस दृष्टिले हेर्दा मन नै हाम्रो शत्रु र मित्रु दुवै हो । शान्त मन हाम्रो मित्रु हो भने अशान्त मन हाम्रो शत्रु हो । पूर्वीय गीता र भागवतम्जस्ता शास्त्रीय ग्रन्थमा भक्तियोग, ज्ञानयोग र ध्यानयोगका माध्यमबाट मनलाई कसरी शान्त र आनन्दित तुल्याउन सकिन्छ भन्ने कुरा उल्लेख गरिएको छ । यस आलेखमा उल्लिखित पूर्वीय शास्त्रीय ग्रन्थहरूलाई अध्ययनको केन्द्र बनाई मानव मनको स्वभाव र यसलाई शान्त पार्ने विषयमा शास्त्रीय ग्रन्थहरूको सहारा लिई उक्त जिज्ञासालाई समाधान गर्ने प्रयास गरिएको छ । यस अध्ययनबाट मानव मनको स्वभाव र मन कसरी शान्त राख्न सकिन्छ भन्ने विषयमा जानकारी राख्न चाहने अध्येता तथा जिज्ञासुहरू लाभान्वित हुनेछन् भन्ने अपेक्षा गरिएको छ ।