‘नेपाली कविताकाव्य (नेपा.शि. ४२३)’ विषयको पाठ्क्रममा समाविष्ट फुटकर कविताहरूमा छन्द प्रयोग
DOI:
https://doi.org/10.3126/jkmc2.v4i1.91241Keywords:
पाउ, पाठ्यक्रम, भाका, लय, श्लोकAbstract
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तह द्वितीय वर्षको ऐच्छिक नेपाली ‘नेपाली कविताकाव्य (नेपा.शि. ४२३)’ बिषयको पाठ्क्रममा समाविष्ट फुटकर कविताहरूमा छन्द प्रयोग शीर्षकको यो आलेख निर्दिष्ट पाठ्यक्रममा समावेश गरिएका चार ओटा कविताहरूमा मात्र केन्द्रित छ । यसमा लेखनाथ पौड्यालको ‘गौँथलीको चिरिबिरी’, लक्ष्मी प्रसाद देवकोटाको ‘यात्री’, सिद्धिचरण श्रेष्ठको ‘ओखलढुङ्गा’ र माधवप्रसाद घिमिरेको ‘मानिसजस्तो अमर मैले देखिन क्यै पनि’ शीर्षकका कविताहरू समावेश गरिएका छन् । विशेषतः यो लेख उपर्युल्लिखित चार ओटा कवितामा प्रयुक्त छन्दहरूको विश्लेषण कार्यमा मात्र परिसीमित छ । अध्ययनको परिसीमाभित्र सीमाङ्कित चार ओटा कवितामा प्रयोग भएका पाँच ओटा (शिखरिणी, चौबोला, द्विपदी, पादाकुलक र झ्याउरे) छन्दलाई आचार्य पिङ्गलकृत शास्त्रीय छन्द र प्रसिद्ध नेपाली लोक छन्द (झ्याउरे लय) को सैद्धान्तिक पर्याधारमा आधारित रहेर विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । अध्ययनको उद्देश्यमा केन्द्रित रही परिसीमाभित्र परिसीमित कविताहरूमा लयात्मकता सिर्जना गर्न सम्बन्धित स्रष्टाहरूले अवलम्बन गरेका छन्द–लयहरूको अध्ययन गर्दा लेखनाथ पौढ्यालको ‘गौँथलीको चिरिबिरी’ कवितामा शास्त्रीय छन्दको वृत्ति भेद अन्तर्गत पर्ने ‘शिखरिणी’ छन्दको प्रयोग भएको देखिन्छ । लक्ष्मी प्रसाद देवकोटाको ‘यात्री’ कवितामा पिङ्गलकृत छन्दशास्त्रको नियममानुसार जातिभेदअन्तर्गत पर्ने ‘चौबोला’ र ‘द्विपदी’ नामक मात्रिक छन्दको प्रयोग भएको पाइएको छ । सिद्धिचरण श्रेष्ठको ‘ओखलढुङ्गा’ कवितामा पनि जातिभेदअन्तर्गत पर्ने ‘पादाकुलक’ छन्दको प्रयोग भएको पाइन्छ । माधवप्रसाद घिमिरेको ‘मानिसजस्तो अमर मैले देखिन क्यै पनि’ कवितामा प्रसिद्ध नेपाली लोकभाका लय)मा आधारित झ्याउरे छन्दको प्रयोग गरिएको छ । यस लेखको लागि आधारको रूपमा लिइएको पाठ्यक्रममा जम्मा तेह्र ओटा एकाइहरू रहेका छन् । जसको एकाइ दुई र तीनमा रहेका जम्मा २२ ओटा फुटकर (लघु) कविताहरूमध्ये जम्मा चार ओटा कविताहरू मात्र छन्दोबद्ध छन् भने बाँकी अठार ओटा कविताहरू मुक्तछन्द (गद्य शैली) का रहेका छन् । ‘नेपाली कविताकाव्य’ बिषयको पाठ्यक्रमभित्र यति थोरै मात्रामा छन्दोबद्ध कविता समावेश गरिनु भनेको नेपाली कविताको विकासक्रममा छन्दोबद्ध कविताको योगदान र स्थान प्रति उति ध्यान नपुगेको भन्ने यस लेखको निष्कर्ष रहेको छ ।