ब्याँसी भाषाको वर्णव्यवस्था

Authors

  • Parbati Bhatta आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

Keywords:

जुम्क, ब्याँस, ब्याँसी, व्यतिरेक, शौका, रं

Abstract

आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्याँस, राप्ला, तिङ्कर र सितोला गाउँहरूमा (हाल ब्याँस गा.पा.) आदिमकाल देखि बसोबास गर्दै आइरहेका छन् । शौका जनजातिहरू ब्याँस हिमालको काखमा र ब्याँस ऋषिको पवित्र तपोभूमिमा बसोबास गर्ने हुनाले ब्याँसी भनी नामाकरण भएको र सोही अनुरुप नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन २०५८ मा सूचीकृत गरिएको छ ।  नेपालको इतिहासमा आदिकालमा शासन व्यवस्था स्थानीय राजा रजौटाहरूको हातमा थियो । त्यस बखतमा ब्याँस उपत्यका हालको भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने बुदी, गरब्याङ्ग, गुन्जी, कुटी, नावी, रोङकाङ र नपलच्यौ तथा हालको ब्याँस गा.पा.को छाङरु र तिंकर गाउँहरू जुम्ली राजाको शासनअन्तर्गत थिए । प्राचीन अविभाज्य र स्थानीय राजाहरूको शासनलाई हेर्दा ब्याँसीहरूको इतिहास हालको भारत र नेपालसँग जोडिएको पाइन्छ । प्राचीन काल देखि ब्याँसी रं हरू बसोबास गर्ने तीन वटा उपत्यकाहरू रहेका थिए । जसमा ब्याँस उपत्यका (व्याङ्खो) बंबा (चौदास) उपत्यका र दारमा उपत्यका पर्दछन् । हाल दारमा र बंबा उपत्यकाहरू भारत तर्फ पर्दछन् भने ब्याँस उपत्यका नेपाल र भारत दुवै तर्फ पर्दछ ।  हालको ब्याँस उपत्यकालाई ब्याँसी भाषामा ब्याङ्खो भनिन्छ । ब्याँस क्षेत्रमा जम्मा ९ वटा गाउँहरू छन् । जसमध्ये ७ वटा गाउँहरू भारतमा पर्दछन् भने नेपाल तर्फ ब्याँस ऋषिको तपोभूमिमा छाङरु र तिंकर पर्दछन् । नेपाल भारत तर्फको ब्याँसी रंहरूको धर्म सँस्कृति, रीतिरिवाज, भाषा, भेषभूषा र संस्कारहरूमा समानता रहेको छ । दार्चुला जिल्लाको राप्ला र सितोला गा.वि.स.(हाल ब्याँस गा.पा.) मा बसोबास गर्ने ब्याँसीहरूको इतिहासलाई हेर्दा ब्याँसी शौकाहरू पनि ब्याँस उपत्यकाको गब्र्याङको कर्जाङ्गबाट आज भन्दा १५–१६ पुस्ता अगाडि देखि नै राप्लाको थिन हुँदै रपाङमा बसोबास गर्दै आएका र बुदीबाट सितोलाका ब्याँसी (स्याङ्कपा) हरू सितोलाको स्याङकाङ भन्ने गाउँमा बस्दै आइरहेका छन् ।  प्रकृतिको पुजा गर्ने ब्याँसी शौका जाति भाषिक सांस्कृतिक र सामाजिक रूपमा बेग्लै पहिचान बोकेको जाति हो । हाल आएर यिनीहरू आफूलाई ब्याँसी मात्र नभनी ब्याँसी–शौका भन्न रूचाउँछन् । ब्याँसी भाषा चिन–तिब्बति भाषा परिवारको पश्चिमी हिमालीअन्तर्गत शौका “रं” समुदायको भाषा हो । मुख्य तया यो भाषा दार्चुला जिल्लाको ब्याँस गाउँपालिका र जिल्ला सदरमुकाम खलङ्गालगायत यस ओरिपरिका क्षेत्रमा बोलिन्छ । यसका साथै भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने बुदी, गरब्याङ्ग, गुन्जी, कुटी, नावी, रोङकाङ र नपलच्यौ क्षेत्रमा बोलिन्छ । ब्याँसी भाषामा ६ ओटा स्वरवर्ण र २९ वटा व्यञ्जन वर्ण रहेका पाइन्छन् । 

Abstract
126
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

ब्याँसी भाषाको वर्णव्यवस्था. (2024). The Journal of Nuwakot Adarsha Multiple Campus , 5(1), 46-55. https://doi.org/10.3126/jnamc.v5i1.76841

Issue

Section

Articles

How to Cite

ब्याँसी भाषाको वर्णव्यवस्था. (2024). The Journal of Nuwakot Adarsha Multiple Campus , 5(1), 46-55. https://doi.org/10.3126/jnamc.v5i1.76841