विद्यालय तहका पाठ्यक्रममा निर्देशित भाषिक मूल्याङ्कनको विश्लेषण
Keywords:
परीक्षण, पाठ्यक्रम, भाषिक सिप, विद्यालय तह, सक्षमताAbstract
प्रस्तुत लेख विद्यालय तहमा राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०७६) निर्माण भएपश्चात् प्रयोगमा आएका आधारभूत शिक्षा (कक्षा ४—८) र माध्यमिक शिक्षा (कक्षा ९ र १०) को पाठ्यक्रममा उल्लेख गरिएका भाषिक मूल्याङ्कनको प्रावधान विश्लेषणमा के न्द्रित छ । गुणात्मक ढाँचाअन्तर्गत दस्तावेज विश्लेषण विधिका आधारमा मुख्य आशय (थिम) निर्माण गरी अध्ययन गरिएको छ । विद्यालय तहको भाषा पाठ्यक्रमले निर्णयात्मक र निर्माणात्मक मूल्याङ्कनलाई आधार मानी आन्तरिक र बाह्य मूल्याङ्कनको स्पष्ट व्यवस्था गरेको छ । आन्तरिक मूल्याङ्कनमा भाषिक सिपको प्रयोगात्मक पक्षलाई बढी जोड दिइएको छ । यसअन्तर्गत कक्षा ४ देखि ८ सम्म ५० प्रतिशत र कक्षा ९ र १० का लागि २५ प्रतिशत अङ्क छुट्याएर मूल्याङ्कनका साधन र प्रयोग तरिकालाई प्रस्ट पारेको छ। शब्दभण्डार, वर्णविन्यास, भाषिक संरचना, बोध, व्यावहारिक लेखन, स्वतन्त्र लेखन र पाठगत बोधसँग सम्बन्धित प्रश्न सबै तहको बाह्य मूल्याङ्कनका लागि लागि निर्धारण गरिएको भए पनि यसको अङ्क विभाजनमा भने विविधता छ । यसले विशेषतः पढाइ र लेखाइको सैद्धान्तिक परीक्षालाई आधार मानेको छ । आधारभूत शिक्षा (कक्षा ६ — ८) पाठ्यक्रमले प्रयोगात्मक मूल्याङ्कनका लागि स्तर निर्धारण गरेको छ तर अन्य तहका लागि यस्तो व्यवस्था गरिएको छैन । यस अध्ययनले भाषा पाठ्यक्रमको मूल्याङ्कनका सन्दर्भमा पाठ्यक्रमविद्, भाषा पाठ्यपुस्तक लेखक र भाषा शिक्षकलगायत भाषिक मूल्याङ्कन र परीक्षणमा चासो राख्ने सम्पूर्णमा सहयोग पु¥याउने छ ।