काठमाडौँ टेबहाल स्थित सङ्कटा मन्दिरको सांस्कृतिक अध्ययन
DOI:
https://doi.org/10.3126/nc.v19i01.95027Keywords:
चण्डमहारोषण, पद्मान्तक, अचलवीर, सङ्कटा, बन्धुदत्तAbstract
काठमाडौँको टेबहाल स्थित सङ्कटा मन्दिरको सांस्कृतिक अध्ययनमा आधारित यस शोधको मुख्य उद्देश्य मन्दिरको ऐतिहासिकता, मूर्त सम्पदा र यसमा अन्तर्निहित अमूर्त सांस्कृतिक पक्षहरूको अन्वेषण गरी यसको समग्र पहिचानलाई उजागर गरिएको छ । सङ्कटा मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूबीचको धार्मिक समन्वय र तान्त्रिक परम्पराको एक जीवन्त सङ्गमस्थलका रूपमा रहेको छ । प्रस्तुत अनुसन्धान ऐतिहासिक एवं सांस्कृतिक अन्वेषणमा आधारित छ, जसमा गुणात्मक विधि र आगमनात्मक ढाँचाको प्रयोग गरिएको छ । प्राथमिक तथ्याङ्क सङ्कलनका लागि २०८१ र २०८२ सालमा स्थलगत अवलोकन र पुजारी तथा सरोकारवालाहरूसँग अन्तर्वार्ता लिइएको थियो । द्वितीयक स्रोतका रूपमा पुस्तक, अभिलेख, विज्ञ समीक्षित जर्नलको उपयोग गरिएको छ । अध्ययनका मुख्य प्राप्तिहरूले सङ्कटा मन्दिरको ऐतिहासिक सम्बन्ध लिच्छविकालसँग रहेको पुष्टि गर्दछन् । राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले कामरूप कामाक्षाबाट सङ्कटालाई नेपाल ल्याएको किंवदन्ती र मन्दिर परिसरका लिच्छविकालीन चैत्य एवं अभिलेखहरूले यसको प्राचीनता प्रमाणित गर्दछन् । यहाँ हिन्दूहरूले सङ्कटालाई शनिको रूपमा र बौद्धहरूले चण्डमहारोषण वा पद्मान्तकका रूपमा पुज्ने गरेको पाइन्छ, जसले अनुपम धार्मिक सहिष्णुता झल्काउँछ । मन्दिरको मूर्त सम्पदामा दुईतले घर शैलीको वास्तुकला र प्रतिमा लक्षणहरू महत्त्वपूर्ण छन् भने अमूर्त संस्कृतिअन्तर्गत नित्य पूजा, नैमित्तिक पूजा, बुसाधँ पूजा र बाह्रवर्षे जात्रा जस्ता परम्पराहरू पुस्तान्तरण हुँदै आएका छन् । सङ्कटा मन्दिर काठमाडौँको एउटा विशिष्ट सांस्कृतिक र तान्त्रिक केन्द्र हो । मन्दिरको मूर्त संरचना र यहाँका जीवन्त परम्पराहरूले नेपालको मौलिक पहिचानलाई जोगाइराखेका छन् । यसको ऐतिहासिक गहिराइ र साझा धार्मिक आस्थाको संरक्षण गर्नु अपरिहार्य देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University