परित्राणमा रत्नसूत्रको मनोवैज्ञानिक पक्ष
DOI:
https://doi.org/10.3126/oj.v2i3.79998Keywords:
रत्नसूत्रको निदान, त्रिरत्न, रोगव्याधि, मनोविज्ञानAbstract
चारैतिरबाट आउने र आउन सक्ने दुःख, कष्ट, भय, अन्तराय, अनिष्ट र विघ्नबाधाबाट मुक्तिको लागि गरिने सूत्रहरूको सङ्गीति, सङ्गायना अथवा सामूहिक पाठ परित्राण पाठ हो । बुद्धद्वारा देशना गरिएका सूत्रहरू पाठ गर्न सजिलो होस् भन्ने हेतुले बौद्ध विद्वान् महास्थविर भिक्षुहरूले महापरित्राण र चूल परित्राण गरी दुई प्रकारले सूत्रहरूलाई सङ्ग्रह गरेका छन् । रत्नसूत्र दुवैमा संग्रहित छन् । रत्नको अर्थ हिरामोती, बहुमूल्य वस्तु, सुख दिने या आनन्दित बनाउने तत्त्व हो । यो मानिसको सुखको अनुभूति गर्ने माध्यम रत्न हो । बोलिचालिको भाषामा आभूषणलाई पनि रत्न भनिन्छ । बुद्धद्वारा देशित रत्नसूत्रमा बुद्ध, धर्म र संघलाई नै त्रिरत्नको रूपमा वर्णन गरिएको छ । रत्न सूत्रको निदानमा भने दुर्भिक्षले मानिसहरूको मृत्यु भई यत्रतत्र छरिएरका मृत शरीरबाट निस्केका दुर्गन्धबाट अहिवात रोग फैलिन गई भूत प्रेतले दुःख दिएको उल्लेख पाइन्छ । बैशाली जस्तो तत्कालिन समयको सम्पन्न नगरका जनताले यसरी अनिष्ट हुनुको कारण खोज्दै जाँदा राजा पो राजधर्मबाट अलग भयो कि भन्ने शंका जनतामा उब्जिएको कुरालाई मनोवैज्ञानिक ढङ्गमा प्रस्तुत गरिएको छ । तर देवताहरूलाई आह्वान गरी बुद्ध, धर्म र संघको गुणको वर्णन गर्दै ती सत्य वचनहरूको आनुभावले सम्पूर्ण दुःख कष्ट हटेको वर्णन छ । यस प्रकार त्रिरत्नको गुण के हो ? मन्दी, अहिवात रोग र राजधर्मलाई मनोवैज्ञानिक रूपमा कसरी प्रस्तुत गरिएको छ ? र ती दृष्टिकोणहरूलाई रत्नसूत्र पाठको माध्यमले कसरी समाधान गरिएको छ ? भन्ने मनोवैज्ञानिक पक्षलाई अध्ययनको केन्द्रमा राखिएको छ । अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक भएकोले छट्ठ संगायनका मूल ग्रन्थहरूका साथै अन्य आवश्यक ग्रन्थहरूलाई स्रोतको रूपमा लिइएको छ । प्रस्तुत लेख विषयवस्तुको प्रकृति अनुसार द्वितीयक स्रोतको आधारमा तयार गरिएको छ ।