पाठभाषाविज्ञानको स्वरूप
DOI:
https://doi.org/10.3126/phe.v15i01.81017Keywords:
परिपथ चक्र,पाठीय अन्तक्र्रिया,सङ्केत, सन्दर्भ बिन्दु,संलयन, संज्ञानAbstract
प्रस्तुत ‘पाठभाषाविज्ञानको स्वरूप’ शीर्षक लेख लिखित पाठमा अर्थप्रविम्बिनको विश्लेषण पद्धतिमा आधारित छ । अर्थ सम्प्रेषणका निम्ति चयन गरिएको भाषिक सङ्केत व्यवस्था र त्यस्तो व्यवस्थाको लिखित संरचना नै पाठ हो । यस्तो पाठमा संरचित अर्थ तथा त्यस्तो अर्थको वस्तुगत विश्लेषण पाठभाषाविज्ञान हो । यस लेखमा अर्थको विश्लेषणका निम्ति प्रयोग गरिएका शाखा र तिनको पद्धतिसम्बद्ध कोणको अध्ययन गरिएको छ । यस लेखको शोध क्षेत्र र समस्या सोद्देश्य रूपले चयन गरिएको हो । लेखका निम्ति समाग्रीको स्रोत पुस्तकालय कार्य हो । यस लेखको शोध समस्या सैद्धान्तिक छ । त्यसैले पुस्तकालयबाट उपलब्ध पाठभाषाविज्ञानका सैद्धान्तिक सामग्री यस लेखमा प्राथमिक रूपले प्रयोग भएका छन् । सैद्धान्तिक अवधारणालाई नै संश्लेषण गरिएकाले यस लेखमा निगमनात्मक विधिको प्रयोग भएको छ । तथ्यलाई सामान्यीकरण गरेर सत्यापनका तहमा पुगी शोध समस्याको समाधान प्रस्तुत गरिएको छ । कुनै पनि पाठ एकाइगत तहमा रहेको कोशीय शब्ददेखि पूर्ण संरचनाका तहमा विस्तार हुने भएकाले पाठभाषाविज्ञानका सबै शाखा आरम्भमा कोशीय एकाइमा नै सम्बद्ध हुन्छन् । लिखित पाठमा प्रयोग भएको आर्थी अन्तक्र्रिया प्रयोक्ताको सन्दर्भ बिन्दु सापेक्ष हुन्छ । यही सन्दर्भ बिन्दुका कारण अर्थ जटिल विषय पनि हो । पाठका हरेक अर्थ पाठीय सङ्कथनका दायरामा रहन्छन् । पाठभाषाविज्ञान पाठीय सङ्कथनको दायराको विषय हो । अर्थको सौन्दर्यपूर्ण अन्तक्र्रिया पाठमा प्रयोग भएको अवस्थामा पाठ साहित्यिक विधामा परिणत हुन्छ । पाठको आर्थी संरचनालाई सहज रूपले बोध गर्न सैद्धान्तिक सामग्रीका तथ्य तथा तिनमा रहेको अवधारणागत संलयनलाई प्रस्तुत गर्न आरेखको प्रयोग गरिएको छ । शोध समस्याको सहज रूपमा प्रस्तुति तथा विश्लेषणका निम्ति अवधारणाको समीकरणीय अवस्था पनि प्रस्तुत गरिएको छ ।