विद्यालय तहमा नेपाली शिक्षणसिकाइ सहजीकरण प्रक्रियाप्रति शिक्षक
DOI:
https://doi.org/10.3126/phe.v15i02.81122Keywords:
भाषिक सिप, शैक्षिक उद्देश्य, विद्यार्थीमैत्री, शिक्षण विधि, सिकाइ क्रियाकलापAbstract
प्रस्तुत लेख विद्यालय तहमा नेपाली शिक्षण सिकाइ सहजीकरण प्रक्रियाप्रति शिक्षकका अनुभवमा केन्द्रित रहेको छ । यस लेखको मुख्य उद्देश्य शिक्षकका धारणाका आधारमा विद्यालय तहमा नेपाली शिक्षण सिकाइ सहजीकरण प्रक्रियाप्रति शिक्षकका अनुभव केकस्ता छन् भन्ने प्राज्ञिक जिज्ञासाको खोजी, पहिचान तथा विश्लेषण गर्नु रहेको छ । यसका लागि गुणात्मक ढाँचा, घटना अनुभव पद्धति र निर्माणवादी सिद्धान्तको उपयोग गरिएको छ । यस लेखमा गरिएको स्थलगत अध्ययनअनुसार उद्देश्यपूर्ण नमुना छनोटका आधारमा रुपन्देही जिल्लाका पाँचओटा विद्यालयमा नेपाली अध्यापन गर्ने दसजना शिक्षक छनोट गरी अर्धसंरचनात्मक अन्तरवार्ताका आधारमा तथ्य सङ्कलन गरिएका छन् । द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यहरूलाई वर्णनात्मक ढङ्गले विश्लेषण गरी सङ्कलित तथ्यबाट आशय निर्माण गरी प्राज्ञिक जिज्ञासाका आधारमा निष्कर्षमा पुगिएको छ । शिक्षकले बताएअनुसार नेपाली शिक्षणलाई भाषाशिक्षण सिकाइसँग जोड्नुपर्दछ । विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी भाषाशिक्षण सिकाइसँग सम्बन्धित पाठ्यसामग्री छनोट र स्तरण गर्नुपर्ने देखिन्छ । यसमा वि.सं. २०२८ यताको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिप केन्द्रित हुँदै आएको, वि.सं.२०२८ पूर्व शिक्षण सामग्रीको उपयोगप्रतिको बेवास्ता, शिक्षण विधि र मूल्याङ्कन परिपाटीप्रतिको स्पष्ट दृष्टिकोणको अभाव रहेकामा वि.सं. २०२८ पछि क्रमशः सिकारुमैत्री शिक्षण, सहयोगात्मक सिकाइ, उत्प्रेरणा तथा पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका पक्षमा ध्यान पुगेको देखिन्छ । खास गरी वि.सं. २०७८ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपाली भाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई प्रायोगिक, व्यवस्थित, अन्तरक्रियात्मक र भाषाशिक्षणको मर्म अनुकूल बनाउन खोजिएको छ । मूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्फ केन्द्रित हँुदै आएको निष्कर्ष निकालिएको छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा केन्द्रित यो लेख सिकाइ सहजीकरण प्रक्रियालाई व्यवस्थित गराउन उपयोगी हुने देखिन्छ । यस अध्ययनबाट यस क्षेत्रमा रही अन्वेषण गर्न चाहने विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालगायतलाई सैद्धान्तिक अवधारणा ग्रहण गर्न र त्यसको उपयोग गरी विश्लेषण गर्न मदत पुग्ने अपेक्षा गरिएको छ ।