कक्षा तीनको नेपाली पाठ्यपुस्तकको पठनशीलता परीक्षण
DOI:
https://doi.org/10.3126/phe.v15i02.81124Keywords:
अक्षर, कठिनाइ स्तर, गद्यांश, पठनशीलता, वाक्य संरचना, शब्दवर्गAbstract
पाठ्यपुस्तकमा प्रयुक्त पढ्न सकिने गुणहरूको खोजी र तिनको कठिनाइ स्तर पत्ता लगाउने कार्य नै पठनशीलताको अध्ययन हो । शैक्षिक पाठ्यसामग्रीहरूलाई पठनीय बनाउनु भनेको पाठक विद्यार्थीहरूको स्तरअनुरूप सहज रूपमा पढ्न वा बुझ्न सकिने गरी पाठ्यवस्तुको रचना गर्नु हो । तसर्थ यही कुरालाई मनन गरी शैक्षिक उद्देश्यले तयार पारिएका सबै कक्षा र तहका पाठ्यपुस्तकहरूमध्ये नमुना अध्ययनका लागि नेपाली विषयको कक्षा तीनको नेपाली पाठ्यपुस्तकको पठनशीलताको अध्ययन गर्न उक्त पाठ्यपुस्तकको भाषिक संरचनाको अध्ययन गरिएको छ । अध्ययनका क्रममा उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा पाठहरू सङ्कलन गरी पाठविश्लेषण विधिको प्रयोग गरी विश्लेषण गरिएको छ । यस क्रममा प्रस्तुत पाठ्यपुस्तकको भाषिक संरचनाका अक्षर संरचना, शब्दवर्ग र वाक्यसंरचनाको अध्ययन गरी पठनशीलताको स्तर पत्ता लगाउने कार्य गरिएको छ । पाठ्यपुस्तक अक्षर संरचनाका दृष्टिले अपेक्षा गरेअनुरूप दुई अक्षरी र तीन अक्षरी शब्दहरूको प्रयोग बढी भएको र चार अक्षरी र पाँच अक्षरी शब्दहरूको प्रयोग र प्रभाव नदेखिनुले अक्षर संरचनाका दृष्टिले पठनशीलताको स्तर उपयुक्त रहेको छ । शब्द वर्गअन्तर्गत पनि प्रस्तुत पाठ्यपुस्तकमा प्रयुक्त मूर्तनाम अमूर्तनामको तुलनामा एकदमै बढी भएकाले पाठ्यवस्तुहरू सरल बन्न पुगेका छन् । दृष्ट क्रियाको प्रयोग बढी र अदृष्ट क्रियाको प्रयोग कम भएकाले पाठ्यवस्तु रचनामा अदृष्ट क्रियाको प्रभाव देखिदैन र वाक्यसंरचनाका दृष्टिले पनि उक्त पाठ्यपुस्तकमा जटिलभन्दा सरल वाक्यकै प्रयोग बढी पाइएको छ । अध्ययनका क्रममा आवश्यक सामग्री पुस्तकालीय विधिका माध्यमबाट सङ्कलन गरी तालिकीकरण गरेर विश्लेषण गरी निष्कर्ष निकालिएको यो अध्ययन गुणात्मक ढाँचाको रहेको छ ।