मोहोर उपन्यासमा निहित इतिहास चेतना
DOI:
https://doi.org/10.3126/pp.v13i1.94810Keywords:
अभिलेख, क्रमबद्धता, राजारजौटा, विच्छेद, शृङ्खलाबद्ध, सामन्तवादAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख मोहोर उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त उपन्यासका लेखक सागर गैरे हुन् । यस कृतिमा आफ्ना चौरासी वर्षका बा’लाई प्रमुख पात्रका रूपमा चयन गरी विगत समयमा भोगिएका कथाव्यथा र सङ्घर्षलाई प्रकाश पारिएको छ । बा’को अतीत जीवनको सङ्घर्ष र पाल्पाको इतिहास तथा बर्दियाका थारूहरूको सांस्कृतिक इतिहासलाई सूक्ष्म रूपमा प्रकाश पारिएको छ । बाबाहरू बाँचेको समयको अशिक्षा, गरिबी र प्रतिकूल जीवनको चित्रणका साथमा इतिहास चेतना प्रबल बनेर आएको देखिन्छ । तत्कालीन सामाजिक तथा आर्थिक अवस्था, आफ्नै दाजुभाइको हेलाहाँसो हुनुपर्ने अवस्था तथा बसाइँ सरेर जानुपर्दाको अवस्थालाई मार्मिक चित्रण गरिएको पाइन्छ । आजभन्दा आठ दशक अगाडिको ग्रामीण नेपाली समाजको तस्बिर उतार्नुका साथै अवसर र सम्भावना खोज्न पहाडबाट तराई झर्ने प्रवृत्तिलाई पनि स्वाभाविक रूपमा उठान गरिएको छ । बा’का पृष्ठभूमिबाट आठ दशकको नेपाली समाजको इतिहास लेख्ने काम लेखकले गरेको पाइन्छ । प्रस्तुत लेखमा पाश्चात्य साहित्य समालोचनामा अस्तित्वमा रहेको ऐतिहासिक समालोचकीय मान्यताका आधारमा सागर गैरेको मोहोर उपन्यास कृतिलाई विश्लेषण गर्ने काम गरिएको छ । इतिहाससम्बन्धी आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा उठान गरी त्यसैका आधारमा शोध्य कृतिको विश्लेषण गरिएको छ । यस क्रममा मोहोर उपन्यास कृतिमा ऐतिहासिकताको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत उपन्यासलाई ऐतिहासिकताको सैद्धान्तिक पर्याधारका पृष्ठभूमिमा विश्लेषण गरी मूल्यनिरूपण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको छ । प्रथम र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा ऐतिहासिकतासम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी कृतिमा निहित ऐतिहासिक सन्दर्भहरूलाई खोजी गरी निष्कर्ष निकाल्ने काम यस लेखमा गरिएको छ ।