नरेन्द्र दाइ उपन्यासका पात्रको चरित्रचित्रण
DOI:
https://doi.org/10.3126/pp.v13i1.94812Keywords:
चरित्रचित्रण, प्रतिनिधि, निस्सार, खलपात्र, नायकAbstract
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाको नरेन्द्र दाइ उपन्यासमा आएका पात्रको चरित्रको विश्लेषणमा केन्द्रित छ । गुणात्मक ढाँचामा रहेको यस लेखमा सोद्देश्यमूलक नमुना छनौट विधिबाट सामग्री लिइएको छ । प्राथमिक स्रोतको सामग्रीका रूपमा कृति र द्वितीयक स्रोतको सामग्रीका रूपमा कृतिका बारेमा गरिएका अध्ययन र चरित्रचित्रणको सिद्धान्तलाई लिइएको छ । दुवै प्रकृतिको सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । मनोविश्लेषणवादी उपन्यास नरेन्द्र दाइमा आएका पात्रमध्ये नरेन्द्र, गौरी, मुनरिया र सानोबाबूको चरित्रको विश्लेषण गरिएको छ । कोइरालाले यस उपन्यासमा मनोवैज्ञानिक, त्रिकोणात्मक सम्बन्ध, यथार्थपरक चित्रण पद्धति प्रयोग गरेका छन् । नरेन्द्र सामन्तवादी परम्पराको जमिनदार वर्गको सदस्यको प्रतिनिधि, सामाजिक बन्धन तोड्ने विद्रोही तथा पलायनमुखी चरित्रका रूपमा देखिएका छन् । गौरी पतिको पीडा खेप्न बाध्य नेपाली नारीको प्रतिनिधि, पतिपरायणा, सामाजिक मर्यादा लत्याएकी चरित्रका रूपमा देखिन्छिन् । मुनरिया अस्तित्वहीन जीवन बिताउन विवश, गौरीको दाम्पत्यजीवनमा घात गर्दै खलपात्रका रूपमा देखिन्छे । सानोबाबू नरेन्द्र, गौरी तथा मुनरियाले बनाएको बालुवाको त्रिभुज भताभुङ्ग भएको कल्पना गरेर जीवनको निस्सारता बोध गर्ने कथयिता र द्रष्टा चरित्रका रूपमा आएको छ । यस लेखमा नरेन्द्र सामाजिक बन्धन र परम्परालाई सजिलै स्वीकार नगर्ने अन्तर्मुखी र विद्रोही पात्र, गौरी आदर्श र धैर्यवान् नेपाली नारीको प्रतीक र आन्तरिक पीडा भोगेकी पात्र, मुनरिया एक निम्न वर्गीय र विजातीय पात्र, यौनिक आकर्षण र प्र ेम भएकी र आफ्नो प्रेमको गहिराइ प्रमाणित गरेकी पात्रका रूपमा रहेको निष्कर्ष दिइएको छ ।