भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86298Keywords:
पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्याङ्कन, सङ्केत, सम्प्रेषणAbstract
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्षण गर्न आवश्यक छ भन्ने समस्याको समाधान यस लेखमा खोजिएको छ । यस अध्ययनमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकतासँग सम्बन्धित विभिन्न सन्दर्भ ग्रन्थबाट तथ्याङ्क सङ्कलन तथा सूचना प्राप्त गरी त्यसका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा पुस्तकालयीय अध्ययन र व्यावहारिक जीवनमा प्रयोगमा आएका प्रविधिबाट सामग्री सङ्कलन गरी विश्लेषण गरिएको छ । प्रस्तुत अनुसन्धानमूलक लेखमा वर्णनात्मक र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकताका बारेमा सुविधाजनक नमुना छनोट विधिबाट प्राप्त तथ्याङ्कका आधारमा विश्लेषण गरिएको छ । शिक्षण सिकाइलाई सरल र सहज बनाउन, सूचना र जानकारी व्यवस्थित गर्न, समय, स्रोत र साधनको उपयोग गर्न, अध्ययनमा विद्यार्थीको रुचि अभिवृद्धि गर्न, शिक्षक र विद्यार्थीबिचको सम्बन्ध बढाउन र सिकाइ उपलब्धि परीक्षण गरी अभिलेख राख्न सञ्चार र प्रविधिको आवश्यकता पर्दछ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकताका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि यो लेख औचित्यपूर्ण हुने छ । विद्यार्थीमा सूचना सम्प्रेषण गर्ने क्षमताको विकास गर्न, विद्यार्थीकेन्द्रित भएर शिक्षण सिकाइ गर्न, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन, शिक्षण क्रियाकलाप, सामग्री निर्माण र मूल्याङ्कनमा सञ्चार र प्रविधिको आवश्यकता छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।