‘दुई रुपियाँ नोट’ कथामा लैङ्गिक शक्तिसम्बन्ध
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86309Keywords:
उत्पीडन, प्रभुत्व, वर्चस्व, लैङ्गिक शक्तिसम्बन्ध, विमर्शात्मक संरचनाAbstract
‘दुई रुपियाँ नोट’ कथामा तत्कालीन पुरुषवादी सामन्ती पितृसत्तात्मक चिन्तन, चरित्र, संस्कार र तिनका व्यवहारको प्रतिनिधित्व गराई निरीह नारीजीवनका यथार्थलाई प्रस्तुत गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठको विषयविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको प्रस्तुत अध्ययनमा सांस्कृतिक अध्ययनको सिद्धान्तअन्तर्गत लैङ्गिक शक्तिसम्बन्धको खोजी र विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक सामन्ती चिन्तन र व्यवहार भएको पुरुषमुखी लैङ्गिक अन्तर्सम्बन्ध र पितृसत्ताकै केन्द्रमा निहित लैङ्गिक विचारधाराको प्रतिनिधित्व गराइएको यसमा वैरभावपूर्ण लैङ्गिक सम्बन्ध, नकारात्मक लैङ्गिक भूमिका, परम्परागत पितृसत्ता, यौनहिंसा र यौनआपराधीकरणको सजीव चित्रण गरिएको छ । निम्नवर्गीय पुरुष र नारी चरित्रका लैङ्गिक समस्याको मूल कारकका रूपमा पितृसत्तागत अहम् र दम्भ रहेको छ । प्रस्तुत लेखमा मानिसको प्राकृतिक लिङ्गका विपरीत सामाजिक, सांस्कृतिक र पारिवारिक आधारमा निर्मित विभेदकारी लैङ्गिक सम्बन्ध स्थापित भएको छ र त्यसले पारिवारिक र सामाजिक सत्ता पुरुषका हातमा सुम्पिएर असमान लैङ्गिक सम्बन्ध निर्माण गरेको कुरा निष्कर्षका रूपमा प्रस्तुत छ । यसमा तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनामा उत्पादनका साधन, उपभोग, वितरण प्रणाली र श्रमको मूल्य निर्धारणमा सामन्तवादी चिन्तन र व्यवहारबाट दीक्षित पुरुषले नारीको सहभागिता शून्य गराएकाले तत्कालीन नारीहरूको अवस्था पुरुषाश्रित र अधीनस्थ बनेको देखाइएको छ । तत्कालीन सामन्ती उत्पादनसम्बन्धमा आधारित पितृसत्तात्मक समाजमा विद्यमान पुरुष वर्चस्व र अधीनस्थताको जर्जर अवस्था प्रस्तुत गरिएको यस कथाका सबै तथ्यहरू हेर्दा तत्कालीन समाजको लैङ्गिक अन्तर्सम्बन्ध अमानवीय, असन्तुलित र असमानतापूर्ण थियो भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ । यसमा तत्कालीन पितृसत्तात्मक संस्कार र चिन्तनयुक्त आर्थिक र सामाजिक संरचनाका कारणले पुरुषबाट नारीहरू चरम यौनशोषणमा परी शक्तिहीन र सीमान्तीकृत बनाइएको र पुरुषहरू यौनपिपासु बनी यौन सुखभोगमा लिप्त रहने विकृत अवस्था भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।