‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86357Keywords:
अन्तर्घुलन, बहुलवादी, विज्ञानप्रविधिपरक, विनिर्माण, स्वप्नतरङ्गAbstract
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्रवेश पाएको छ । उत्तरआधुनिकतावादको महत्त्वपूर्ण मान्यता बहुलवादको एक पाटो अन्तर्विषयकता हो । साहित्यमा साहित्येतर विषयक्षेत्रको प्रवेश नै अन्तर्विषयकता हो । कुनै विधाका पाठमा भिन्न–भिन्न विषयको समावेश छ भने ती सिर्जनाहरूको अन्तर्विषयक अध्ययन, पठन र विश्लेषण हुन्छ । अन्तर्विषयकताले पाठमा रहेको अन्तर्विषयकता केलाउने भएकाले प्रस्तुत लेख संवेदनाको सफ्टकपी कथामा रहेको विज्ञानप्रविधिलाई केलाउन केन्द्रित छ । अन्तर्विषयकता सिर्जना र समालोचनाको नवीन पद्धति भएकाले पनि यसका आधारमा पाठको अध्ययन, पठन र विश्लेषण गरिनु महत्त्वपूर्ण छ । यो लेख संवेदनाको सफ्टकपी कथामा अन्तर्घुलित विज्ञानप्रविधिलाई प्रकाशमा ल्याउन केन्द्रित छ । पुस्तकालयबाट स्रोत सामग्री सङ्कलन गरी अन्तर्विषयक सैद्धान्तिक मान्यताका आधारमा कथाको विश्लेषण गरिएको छ । प्रविधिको प्रयोग गरी मनको व्यापकतालाई मूर्त बनाउन गरिएको वैज्ञानिक प्रयोगले कथामा विज्ञानप्रविधिजन्य विषयको अन्तर्घुलन भएको छ । कथामा प्रयोग गरिएको विज्ञानप्रविधिले यसलाई अन्तर्विषयक बनाएको निष्कर्ष निकालिएको छ ।