सांस्कृतिक परम्परामा मगर विवाह संस्कार

Authors

  • Damber Bahadur Pun त्रिवि अनुगमन निर्देशनालय https://orcid.org/0009-0008-9548-6336
  • Dawa Sherpa महेन्द्र रत्न क्याम्पस, ताहाचल

Keywords:

गलामफेट, साइमासो, मगनी, सोधनी, छाङ्रा

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख नेपालमा बसोबास गर्ने मगर समुदायमा गरिने विवाह संस्कारका विषयमा केन्द्रित रहेको छ । विभिन्न समुदायका मानिसका विवाह संस्कारका बारेमा चर्चा गरिएको भए तापनि हालसम्म मगर समुदायको विवाह संस्कारका बारेमा चर्चा नगरिनु यस अध्ययनको मूल समस्या हो भने मगर समुदायमा विद्यमान रहेको विवाह संस्कारको विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य हो । मगर विवाह संस्कारसँग सम्बन्धित सामग्रीको सङ्कलनका लागि क्षेत्र कार्यअन्तर्गत अवलोकन र सामूहिक छलफल कार्यका साथै नमुना छनोट विधिअन्तर्गत हिम गोल नमुना छनोट विधिको उपयोग गरिएको छ । सङ्कलित सामग्रीको निर्मलीकरण गर्न विश्लेषणात्मक विधिको सहायता लिइएको छ । यस लेखमा मगर समुदायमा प्रचलित मागी विवाह, भागी विवाह र चोरी विवाह पद्धतिका विषयमा चर्चा गर्नु यसको परिणाम हो । परिणाम प्राप्तिका लागि विवाहका क्रममा गरिने विभिन्न प्रकारका विधिहरू माइती विवाह, घर विवाह, साइमासो, मगनी, बनबाख्री, सोरको¥या, भित्र पस्न जाने, पाइला फर्काउने आदिको छलफलसमेत यस अध्ययनमा गरिएको छ । मगर समुदायमा प्रचलित विवाह संस्कार मौलिक प्रकृतिको रहेको पाइन्छ । दुलहीका घरमा गरिने विवाहलाई माइती विवाह र दुलाहाका घरमा गरिने विवाहलाई घर विवाह भनिन्छ । मगर समाजमा पहिलो चरणमा सानो विवाह र दोस्रो चरणमा ठूलो विवाह गर्ने परम्परा रही आएको पाइन्छ । भागी विवाह गरिएको अवस्थामा विवाहका लागि स्वीकृति लिने र विवाहलाई औपचारिकता प्रदान गर्ने उद्देश्यले बनबाख्री भनेर बोका वा खसी लिएर केटी पक्षका घरमा केटा पक्षका जिम्मेवार व्यक्तिहरू जाने चलन छ । यसलाई विवाहका लागि पूर्व स्वीकृति वा सोधनी पनि भन्ने गरिन्छ । यसै गरी भागी विवाह गरेको भएमा दुलाहाको घरमा विवाह सम्पन्न भएपछि छाङ्रा खाने वा ढोगभेट फुकाउने सल्लाहका लागि ससुराली घरमा जाने प्रचलन मगर समुदायमा पाइन्छ । यस्तो कार्यलाई सोरको¥या लैजाने भनिन्छ । मगर समुदायमा विवाह कार्यक्रम सकिएपछि दुलाहा, दुलही लगायतका पाँच, सात, नौ वा एघार जना व्यक्तिहरू रोटी, कसार, रक्सी लिएर माइतीका घरमा जाने प्रचलन छ । यो विवाह गरेको तीन दिनदेखि एघार दिनसम्म बिजोर दिनमा मात्र जाने गरिन्छ । घरभित्र पसेर फर्केको केही दिनपछि पाइला फर्काउने भनेर पुनः दुलाहा, दुलही मात्र माइती घरमा जाने प्रचलन मगर समुदायमा पाइन्छ । कुनै निश्चित पुरेत बिना समाजका जान्नेमान्ने व्यक्तिको सहकार्यबाट मगर विवाह सम्पन्न गरिन्छ । दुबै पक्षका व्यक्तिले तरवार लिएर खाँरा खेल्नु, जन्तीलाई केराका बोटको मादल भिराइदिनु, भेडेकुराको टोपी र इस्टेकोट लगाइदिनु, सालका पातको झोली भिराइदिनु मगर विवाह विधिका मौलिक पहिचान हुन् । माइती घरमा गरिने भोजको व्यवस्था दुलाहा पक्षले नै गरिदिने, कोसेली वा छाङ्रा साटासाट गर्ने, सम्पूर्ण कोसेली आफन्तजनले बाँडेर खाने र दाइजो वा उपहार सामूहिक रूपमा दिने पद्धति पनि मगर विवाहको आफ्नै पहिचान हो ।

Abstract
158
PDF (Nepali)
0

Author Biographies

Damber Bahadur Pun, त्रिवि अनुगमन निर्देशनालय

उपप्राध्यापक, सदस्य

Dawa Sherpa, महेन्द्र रत्न क्याम्पस, ताहाचल

सहप्राध्यापक

Downloads

Published

2025-08-05

How to Cite

Pun, D. B., & Sherpa, D. (2025). सांस्कृतिक परम्परामा मगर विवाह संस्कार. Pranayan प्रणयन, 26(8), 163-174. https://doi.org/10.3126/pranayan.v26i8.82579

Issue

Section

Articles

How to Cite

Pun, D. B., & Sherpa, D. (2025). सांस्कृतिक परम्परामा मगर विवाह संस्कार. Pranayan प्रणयन, 26(8), 163-174. https://doi.org/10.3126/pranayan.v26i8.82579