स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आठराई त्रिवेणी गाउँपालिका
DOI:
https://doi.org/10.3126/rj.v10i1.93023Keywords:
स्थानीय पाठ्यक्रम, सरोकारवाला, मातृभाषा, पाठ्यक्रम प्रारूपAbstract
विद्यालय शिक्षाको पाठ्यक्रमसम्बन्धी मूल मार्गदर्शक दस्तावेजको रूपमा रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम मातृभाषामा शिक्षा पाउने अवस्थाको सुनिश्चितताका लागि स्थानीय पाठ्यक्रमको व्यवस्था गरेको छ । स्थानीय ज्ञान, सिप तथा प्रविधि आदिको विकास र स्तरोन्नति गर्न तथा स्थानीय आवश्यकता, रुचि र सामाजिक, सांस्कृतिक अभ्यासहरूमा केन्द्रित भई स्थानीय पाठ्यक्रम निर्माण गर्न यसले मार्गदर्शन प्रदान गरेको छ । निर्देशिकाले तय गरेअनुसार स्थानीय पाठ्यक्रम विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू तथा बुद्धिजीवीहरू सम्मिलित भई निर्माण गरिने प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रमको अवधारणा, स्थानीय पाठ्यक्रम विकासका लागि हालसम्म भएका अभ्यास, ताप्लेजुङ जिल्ला अन्तर्गत रहेको आठराई त्रिवेणी गाउँपालिकामा स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्थालाई उजागर गर्ने प्रयास गरिएको छ । स्थानीय पाठ्यक्रम विकासको नीतिगत व्यवस्था र हालसम्म गरिएका अभ्यासहरूको विश्लेषण गर्नुका साथै आधारभूत तहमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनको अवस्था पत्ता लगाउनु यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययन कार्यमा प्राथमिक र द्वितीय साधन र स्रोतको प्रयोग गरिएको छ । यो अध्ययन वर्णनात्मक एवम् विश्लेषणात्मक विधिमा आधारित भई तयार गरिएको छ । निष्कर्षमा केही संस्थागत विद्यालयमा बाहेक सबै सामुदायिक विद्यालयमा गाउँपालिकाको सक्रियतामा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विकास गरी कार्यान्वयन भएको देखिन्छ । विशेष प्राविधिक सहयोग बाहेक स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोग गरेको हुँदा स्थानीय ज्ञान, सिप, प्रविधिको विकासमा गाउँपालिकाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । यसका अलावा संस्थागत विद्यालयमा पनि समुदायको माग बमोजिम स्थानीय पाठ्यक्रम अनिवार्य लागु गराउन आवश्यक छ ।