पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
DOI:
https://doi.org/10.3126/rrij.v5i5.78929Keywords:
अतिरञ्जना, गुणगाथा, धीरता, लोकार्षण, विराजितAbstract
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म विचरित एकीकरण अभियानमा देखिएका द्वन्द्वका तत्त्वका स्थापित मान्यतामा आधारित रहेर विश्लेषण गरिएको छ । राज्य विस्तारका क्रममा राजा पृथ्वीनारायण खड्ग लिएर युद्धको मैदानमा थिए र उनले नै युद्धको नेतृत्व गरेका थिए । पृथ्वीनारायणको वीरता, धीरता र शौर्यको गाथा कोरिनुको साथै तत्कालीन सामाजिक जीवनको अवस्था, आर्थिक व्यवहार र राजनीतिक परिवेशको चित्र समेत उतारिएको छ । महाकाव्यमा उथलपुथल भइरहेको राजनीति मात्र नभएर तत्कालीन समाजको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका विभिन्न अवस्थाबारे पनि वर्णन गरिएको छ । यस लेखमा उदयानन्द अज्र्यालको पृथ्वीन्द्रोदय महाकाव्यलाई प्राथमिक स्रोत सामग्री र द्वन्द्वसँग सम्बद्ध समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्राप्त तथ्यहरूलाई विश्लेषण विधिद्वारा विवेचना गरिएको छ । त्यो युगमा नेपालको सन्दर्भमा एकीकरणको सोचाइ धेरै दुर्गममा पर्दथ्यो । तर राज्य विस्तारको सोचाइ भने राजनीतिको व्यावहारिक जीवनमा लागु हुँदै आएको थियो । त्यतिबेलाको समाजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई केन्द्रमा राखेर नायक राजा पृथ्वीइन्द्रको वीरता, धीरता र शौर्यतालाई महाकाव्यको सम्पदा बनाइएको छ । उपत्यकाका राज्यहरूको आपसी शङ्का र अनुदार चरित्रले गर्दा पछिल्लो समयमा अपनाएको कुटनीतिले काम गर्न नसकेकोले पृथ्वीनारायण शाहले जित हासिल गर्न सहज भएको निष्कर्ष निकालिएको छ ।