उपनयन संस्कारको महत्त्व

Authors

  • Vishnu Prasad Sharma

DOI:

https://doi.org/10.3126/srj.v3i1.93332

Keywords:

यज्ञः, संस्कारः, सदाचारः, धर्मम्, सत्यम्, यज्ञोपवीत

Abstract

हिन्दु जीवन दर्शनमा संस्कारको अर्थ हुन्छ ‘परिष्कृत गर्नु’ वा ’शुद्धीकरण गर्नु’ हो । सोह्र संस्कारमध्ये ‘उपनयन’ वा ’व्रतबन्ध’ लाई व्यक्तिको बौद्धिक र आध्यात्मिक क्षितिज उजिल्याउने सबैभन्दा शक्तिशाली माध्यम मानिएको छ । ‘उपनयन’ शब्दले ‘उप’ (नजिक) र ‘नयन’ (लैजानु) को अर्थ बोक्दै बालकलाई गुरु, ज्ञान र प्रकाशको नजिक पुर्‍याउने मार्ग प्रशस्त गर्दछ । उपनयन संस्कारको महत्त्वका प्रमुख आधारहरू द्विजत्व र ज्ञानको उदय धर्मशास्त्रीय मान्यता अनुसार मानिस जन्मले शूद्र (संस्कारहीन) हुन्छ र संस्कारले मात्र ‘द्विज’ बन्दछ । उपनयनलाई दोस्रो जन्म मानिनुको अर्थ यो हो कि यसपछि बालकले भौतिक शरीरभन्दा माथि उठेर चेतना र विवेकको संसारमा प्रवेश गर्छ । अनुशासनको दीक्षाः यो संस्कारले बालकलाई ‘व्रत’ (नियम) मा ‘बन्ध’ (बाँध्ने) काम गर्छ । ब्रह्मचर्यको पालन, समयको पालना र इन्द्रिय निग्रह जस्ता कुराहरूले मानिसलाई भविष्यमा आउने जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम बनाउँछ । त्रि–ऋणको बोध र उत्तरदायित्व, जनैमा रहेका तीन डोराहरूले पितृ ऋण, ऋषि ऋण र देव ऋणको प्रतीकका रूपमा व्यक्तिलाई समाज, परिवार र प्रकृतिप्रतिको दायित्व निरन्तर स्मरण गराइरहन्छन् । यो एउटा यस्तो सूत्र हो जसले व्यक्तिलाई ‘म’ बाट ‘हामी’ र ‘स्वार्थ’ बाट ‘परमार्थ’ तर्फ डोर्‍याउँछ । गायत्री शक्ति र एकाग्रताः यस संस्कारको मुटु मानिने ‘गायत्री मन्त्र’ ले बुद्धिको शुद्धीकरण र एकाग्रताको विकास गर्छ । आधुनिक मनोवैज्ञानिक दृष्टिकोणबाट पनि यो संस्कारले किशोर अवस्थामा प्रवेश गर्दै गरेका बालकहरूमा आत्मविश्वास र मानसिक दृढता पैदा गर्दछ । उपनयन संस्कारको महत्त्व हिन्दु धर्मका १६ संस्कारहरूमध्ये उपनयन वा व्रतबन्ध एक अत्यन्त महत्त्वपूर्ण शैक्षिक र आध्यात्मिक संस्कार हो । यसले बालकलाई ‘द्विज’ (दोस्रो जन्म भएको) को मान्यता दिँदै अनुशासित र मर्यादित जीवनतर्फ डोर्‍याउँछ भन्ने नै हो । आधुनिक समयमा पश्चिमी संस्कृतिको प्रभाव र प्रविधिको बढ्दो प्रयोगका कारण युवा पुस्तामा आफ्ना मौलिक संस्कारहरूको वैज्ञानिक र आध्यात्मिक महत्त्वबारे बुझाइ कम हुँदै गएको छ । उपनयन संस्कारलाई केवल एउटा सामाजिक भोज वा कर्मकाण्डको रूपमा मात्र लिने गरिएकाले यसको वास्तविक अनुशासनात्मक र शैक्षिक मूल्य हराउँदै जानु मुख्य समस्या हो । यस लेखको मुख्य उद्देश्य उपनयन संस्कारको धार्मिक, शैक्षिक र सामाजिक महत्त्वलाई उजागर यस संस्कारले बालकको व्यक्तित्व विकास, गायत्री मन्त्रको शक्ति र गुरु–शिष्य परम्पराको पुनर्जागरणमा कसरी सहयोग पु¥याउँछ भन्ने कुरा स्पष्ट पार्नु रहेको छ । प्रस्तुत अध्ययनमा वर्णनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । प्राचीन वैदिक शास्त्रहरू, स्मृति ग्रन्थहरू र वर्तमान सामाजिक अभ्यासहरूको अध्ययन गरी यस संस्कारको सान्दर्भिकता पुष्टि गरिएको छ । उपनयन आत्म–संयम र ज्ञान प्राप्तिको ढोका खोल्नु हो । यसले बालकलाई जिम्मेवारीबोध गराउनुका साथै स्वस्थ र नैतिक जीवन जिउने आधार प्रदान गर्दछ । यसको मूल मर्मलाई जोगाउनु, धर्मशास्त्रीय सिद्धान्तलाई आत्मसाथ गर्नु, शास्त्रअनुकूल व्यवहार गर्नु आजको आवश्यकता हो ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
9

Downloads

Published

2025-12-31

How to Cite

Sharma, V. P. (2025). उपनयन संस्कारको महत्त्व. Southwestern Research Journal, 3(1), 33–45. https://doi.org/10.3126/srj.v3i1.93332

Issue

Section

Articles