बागी स्त्रीको आत्मकथा कविता सङ्ग्रहमा पितृसत्ता
Keywords:
उत्पीडन, प्रतिरोध, पितृसत्ता, दमन, शोषणAbstract
प्रस्तुत लेख बागी स्त्रीको आत्मकथा कविता सङ्ग्रहका कवितामा पितृसत्ताको विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखको शोध र शोध्य समस्या पनि यसैलाई बनाइएको छ । पुस्तकालयबाट सामग्री सङ्कलन गरिएको यस लेखको प्राथमिक सामग्री बागी स्त्रीको आत्मकथा कवितासङ्ग्रहका कवितामध्येबाट पितृसत्ताप्रधान अभिव्यक्ति भएका रचनालाई सोद्देश्य चयन गरिएको छ भने सैद्धान्तिक आधार र अवधारणा निर्माण गर्नका लागि द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । त्यसैगरी यस लेखमा गुणात्मक अनुसन्धान पद्धति र पाठ विश्लेषण विधिको उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठ विश्लेषण विधिको उपयोग गरिएको लेखमा पाठमा प्रयोग भएका पितृसत्ताप्रधान कथनका आधारमा कृतिनिष्ठ व्याख्या गरिएको छ । पितृसत्तात्मक नेपाली समाजमा सांस्कृतिक र विचारधारात्मक रुपमा पुरुषमा निहीत सत्ताका कारण नारीहरुको अवस्था अन्याय, अत्याचार, शोषण, दमन र हिंसाका कारण उत्पीडिनमा परी किनारीकृत भएको वस्तुतथ्य प्रस्तुत भएको छ । यसका कारण उनीहरूको भूमिका, सहभागिता, प्रतिनिधित्व र पहिचानमा समस्या रहेको विषय कवितामा अन्तर्निहित भएर रहेको छ । नेपाली समाजमा पितृसत्ताको वर्चश्व सांस्कृतिक रूपमा दमनकारी मात्र नभई नारी मनोविज्ञान र शरीरमासमेत पुरुषकै अधिकार हुन्छ भन्ने मान्यताका कारण उत्पीडनमा परेका नारीको अवस्थालाई बागी स्त्रीको आत्मकथा सङ्ग्रहमा सङ्गृहीत कविताले अन्तर्वस्तुका रुपमा प्रस्तुत गरेका छन् । यसका साथै पुरातनवादी पितृसत्ताका कारण नारी शरीरलाई वस्तुकरण गरी विद्रूपीकरणसमेत गरिएको अवस्थामा प्रतिनिधि पात्रका रूपमा उपस्थित बागी स्त्रीमा शसक्त रुपमा प्रतिरोधी चेतना र चिन्तन जागृत भएको भाव अनुभूतिका रूपमा प्रस्तुत भएको छ । यस लेखमा बागी स्त्रीको आत्मकथा कविता सङ्ग्रहका कवितामा पितृसत्ताको स्वरुप कुन रुपमा कसरी र किन अभिव्यक्त भएको छ भन्ने विषयलाई विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।