नेपाली तीज गीतमा सांस्कृतिक रूपान्तरण र लोकप्रिय संस्कृति
DOI:
https://doi.org/10.3126/tjad.v9i1.82177Keywords:
परम्पराको भञ्जन, परिवर्तनको आवाज, पारिवारिक सम्बन्ध, नारी चेतना, सामूहिकताAbstract
प्रस्तुत लेख तीज पर्वको सांस्कृतिक रूपान्तरण र लोकप्रिय संस्कृतिकोे विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा तीज पर्व, सांस्कृतिक रूपान्तरण र लोकप्रिय संस्कृति तीनवटा चर रहेका छन् । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्रीको उपयोग गरिएको छ । यस लेखमा क्षेत्रकार्यबाट प्राप्त सामग्रीलाई प्राथमिक तथा पुस्तकालयबाट प्राप्त सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा लिई अध्ययन र विश्लेषण गरिएको छ । नेपाली समाजमा प्रचलनमा रहेका तीज गीतमा अभिव्यक्त विषयका साथै क्षेत्रकार्यबाट प्राप्त सामग्रीका आधारमा यसको परिवर्तित स्वरूपका विषयमा विमर्श भएकाले यसमा आगमनात्मक र निगमनात्मक दुबै विधिको प्रयोेग भएको छ । संस्कृति समाज, मानव विकास, जीवनजगत् र समग्र मानव जीवनसँग सम्बन्धित विषयलाई प्रतिबिम्बन गर्ने साझा अवधारणा हो भने नेपाली समाजमा हिन्दू धर्म अवलम्बन गर्ने नारीका लागि तीज पर्व मुख्य संस्कृति हो । नेपाली समाजमा तीज पर्वमा पारिवारिक सम्बन्धमा नारीका कार्य, भूमिका, दृष्टिकोणका साथै नारी वेदना र संवेदनालाई गीतका माध्यमबाट प्रस्तुत गर्ने प्रचलन रहेको छ । तीजका गीत श्रुतिमा आधारित सुदीर्घ परम्परालाई निरन्तरता दिने नेपाली संस्कृतिका बाहक हुन् ।नेपाली नारीसँग सम्बन्धित संस्कृतिको अभिव्यञ्जना गर्ने तीजका गीत समयसापेक्ष रूपान्तरित भएका छन् । यस लेखमा नेपाली लोकगीत अन्तर्गत पर्वगीतका रूपमा श्रुतिपरम्परामा गाइने तीजका गीतको सांस्कृतिक रूपान्तरण तथा त्यसले वर्तमान समयमा ग्रहण गरेको लोकप्रिय संस्कृतिको परिवर्तित स्वरूपको विषयमा विश्लेषण भएको छ । तीज पर्व नेपाली नारीहरूको मौलिक पर्व हो । यो पर्व अहिले लोकप्रिय संस्कृतिका रूपमा विकसित भएको छ । सामाजिक व्यवहारको उत्प्रेरक प्रतिमानको समुच्चय संस्कृतिको पहिचान र रूपान्तरणका आधारहरू भाषा, रीतिरिवाज, चाडपर्व, खानपान, वेषभूषा, संस्कार, विधिव्यवहार आदि हुन् । मान्छेका पथप्रदर्शकका रूपमा रहने सांस्कृतिक पक्षको प्रतिबिम्बन तीज गीतको अन्तर्वस्तु हो । संस्कृति, जातजाति, भाषा, धर्म, रहनसहन, वेषभूषा, खानपान, संस्कार, व्यवहार, सम्बन्ध, शिक्षाजस्ता आधारमा स्थापित, गतिशील र समाजलाई परस्परमा जोड्ने आधार हो । नेपाली समाजमा तीज पर्वमा गाइने कालजयी गीतमा नेपाली सामाजिक निर्मितिको प्रभावकारी चित्रण भएको छ । नेपाली नारीहरूको पर्वका रूपमा पहिचान प्राप्त तीज एक धार्मिक विश्वासमा आधारित सांस्कृतिक सम्पदाका रूपमा रहेको छ । नेपाली समाजमा नारीको विशेष पर्व मानिने तीजमा गाइने गीत विकसित सामाजिकता र परम्पराका कारण लोकप्रिय संस्कृतिका रूपमा विकसित हुँदै गएको छ । यस लेखमा परम्परागत रूपमा मनाइने पर्व विशेषभन्दा पनि बृहत्तर सांस्कृतिक स्वरूपमा गतिशील हुँदै गएको तथा यस पर्वका विषयमा परम्परित मान्यताभन्दा भिन्न शैलीको अवलम्बन हुनुको असर र कारणका विषयमा विमर्श गरिएको छ । यस लेखमा लोकप्रिय संस्कृतिसम्बन्धी सिद्धान्तका आधारमा प्राप्त सामग्रीको विश्लेषण र संश्लेषण गरी निष्कर्षमा पुगिएको छ । तीज गीतको सांस्कृतिक रूपान्तरणका सन्दर्भमा लोकप्रिय संस्कृतिका दार्शनिक आधारमा मूल्य निरूपण गरिएको यस लेखबाट प्राप्त मूल्यसापेक्ष बहुलवादी निष्कर्षले तीज गीतमा अन्तर्निहित सांस्कृतिक रूपान्तरणको सौन्दर्य र भाव सौन्दर्यलाई अभिव्यञ्जित गरेको छ ।