बैंस कथाको अन्तरसम्बद्धता विश्लेषण
DOI:
https://doi.org/10.3126/tmcrj.v8i3.80478Keywords:
अन्तरसम्बद्धता, अन्तरविच्छेदन, उत्पीडन, प्रणालीगत पूर्वाग्रह, प्रतिरोध, सीमान्तीकरणAbstract
प्रस्तुत लेख नवीन विभासको ‘बैँस’ कथाको अन्तरसम्बद्धता विश्लेषणमा आधारित छ । अन्तरसम्बद्धता भनेको विशेषाधिकार र भेदभावबाट निर्मित शोषण, उत्पीडन र विभेद खप्टाइको तह हो, जसले सामाजिक पहिचानहरू कसरी अन्तरसम्बन्धित हुन्छन भन्ने कुराको परीक्षण गर्दछ । अन्तरसम्बद्धता विश्लेषणका लागि प्रस्तुत लेखमा सैद्धान्तिक ढाँचाको मूल आधार क्रेन्सा (सन १९९१), क्रेनिन (सन १९९६) तथा रोड्रिज र अरू २०१६) का वैचारिक सामग्रीहरू रहेका छन । अन्तरसम्बद्ध चेतना आर्थिक, सामाजिक र शारीरिक पक्षसँग सम्बन्धित महिलाको सांस्कृतिक तथा यौनिक भूमिका र त्यसबाट निर्मित शक्तिसम्बन्धसम्बद्ध विषय रहेकाले समाजशास्त्रीय अध्ययनअन्तर्गत अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यमा प्रयोग हुँदै आएको दृष्टिकोण हो । समालोचनाका क्षेत्रमा अन्तरसम्बद्धता समाजको शक्तिसम्बन्धका आधारमा निर्धारित संरचनात्मक लाभांश प्राप्त र त्यसबाट वञ्चित महिलाका बिचको आर्थिक, सामाजिक सम्बन्ध र त्यसले निम्त्याएको द्वन्द्वात्मक परिस्थिति एवम महिलाको सम्मानित पहिचानको पक्षधरताका आधारमा कृतिको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका महिलामाथिको विभेद, शोषण, द्वन्द्व एवम उनीहरूको मुक्ति जस्ता सामाजिक सांस्कृतिक पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङगले विश्लेषण गर्ने काम गर्दछ । ‘बैंस’ कथामा नेपाली समाजको बादी महिलाप्रतिको दृष्टिकोण चित्रण, पितृसत्तात्मक समाजसँगको त्यसको द्वन्द्वात्मक सम्बन्ध एवम सामाजिक शक्तिसम्बन्धबाट देहव्यापारमा लगाइएका महिलालाई झनै सीमान्तीकृत गर्दै लगेको र त्यसबाट मुक्तिका लागि सशस्त्र विद्रोहको बाटो रोजेको आख्यानात्मक अभिव्यक्तिमा अन्तरसम्बद्ध चेतना सघन बनेकाले यस दृष्टिकोणबाट प्रस्तुत कथा बलशाली रहेको निष्कर्ष निकालिएको छ ।