मदन पुरस्कार पुस्तकालय, शारदा र नेपाली कथाको जग
Keywords:
अभिलेखीकरण, डिजिटाइजेसन, धरोहर, नेपाली कथा, मपुपु, सांस्कृतिक स्मृतिAbstract
नेपाली साहित्यको इतिहासमा शारदा पत्रिकालाई आधुनिक नेपाली कथाको प्रारम्भिक चरणको विकाससँग जोडेर चर्चा गरिए पनि त्यसको संरक्षणमा पुस्तकालयले निर्वाह गरेको अभिलेखीय भूमिकाको समग्र मूल्याङ्कन भएको पाइँदैन । यस अध्ययनले आधुनिक नेपाली कथाको विकासक्रम र त्यसको ऐतिहासिक पुनर्निर्माणमा मदन पुरस्कार पुस्तकालयको योगदानलाई शारदा पत्रिकाका संरक्षित अभिलेखका आधारमा विश्लेषण गर्ने उद्देश्य राखेको छ । प्रस्तुत अध्ययनमा अभिलेखीय सम्पदा संरक्षण (डकुमेन्ट्री हेरिटेज प्रिजर्भेसन) को अवधारणा तथा सांस्कृतिक स्मृति सिद्धान्त (कल्चरल मेमोरी थियरी) लाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ । गुणात्मक अनुसन्धान विधिअन्तर्गत दस्तावेज विश्लेषण (डकुमेन्ट एनालाइसिस) विधिको प्रयोग गरी शारदा पत्रिकाका उपलब्ध प्रारम्भिक चरण (वि.सं. १९९१-२०००) का अङ्क, मदन पुरस्कार पुस्तकालयका अभिलेख, प्रकाशित अनुसन्धान तथा अन्य द्वितीयक स्रोतको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनबाट शारदा आधुनिक नेपाली कथाको प्रकाशनमञ्च मात्र नभई नेपाली साहित्यको अभिलेखित सम्पदा र सांस्कृतिक स्मृतिको महत्त्वपूर्ण वाहक भएको पुष्टि भएको छ । यस पत्रिकाले गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुष्करशमशेर, बालकृष्ण शमशेर ज.ब.रा. (सम), भवानी भिक्षु, केशवराज पिँडाली, तारणीप्रसाद कोइराला, युद्धप्रसाद मिश्र, रुद्रराज पाण्डेय, विजयबहादुर मल्ल, लक्ष्मीप्रसाद देवककोटालगायतका कथाकारहरूको प्रारम्भिक चरणका कथालेखनलाई संस्थागत गर्दै प्रकाशनको मञ्च प्रदान गरेर आधुनिक नेपाली कथाको आधार निर्माण गरेको देखिन्छ । त्यस्तै मदन पुरस्कार पुस्तकालयले शारदाका अङ्कहरूको सङ्कलन, सूचीकरण, वर्गीकरण, संरक्षण, सूक्ष्मछवीकरण तथा डिजिटाइजेसनमार्फत ती साहित्यिक अभिलेखलाई दीर्घकालसम्म सुरक्षित राखी नेपाली साहित्यिक स्मृतिको संरक्षण तथा आधुनिक नेपाली कथाको इतिहास पुनर्निर्माणका लागि अपरिहार्य अनुसन्धानाधार उपलब्ध गराएको निष्कर्ष प्राप्त भएको छ । प्रस्तुत अध्ययनको मुख्य योगदान पुस्तकालय विज्ञान, अभिलेख अध्ययन तथा नेपाली साहित्यबीच अन्तरसम्बन्ध स्थापित गर्नु हो । यसले अभिलेख संरक्षण र साहित्यिक इतिहासबीचको सम्बन्धलाई सैद्धान्तिक रूपमा स्पष्ट गर्दै आधुनिक नेपाली कथाको इतिहासनिर्माणमा पुस्तकालयको भूमिकालाई पुनर्परिभाषित गरेको छ । यस अध्ययनले नेपाली साहित्य र पुस्तकालय तथा सूचना विज्ञान दुवै क्षेत्रमा अन्तरविषयक अनुसन्धानका लागि नयाँ सैद्धान्तिक र अनुसन्धानात्मक आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।