उत्तरवर्ती नेपाली कवितामा नारीचेतना
Keywords:
नारीवाद,, पितृसत्ता,, प्रतिरोध चेतना,, लैङ्गिक विभेद,, समावेशी व्यवस्थाAbstract
प्रस्तुत शोधलेख उत्तरवर्ती नेपाली कवितामा नारीचेतनासम्बन्धी अध्ययनमा केन्द्रित छ। यस अनुसन्धानलाई गुणात्मक विधिद्वारा तयार गरिएको छ। अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ। यसमा विश्लेषणका लागि चयन गरिएका उन्नाइस ओटा कविताका अंशलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ, भने नारीचेतनासँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ। यस अध्ययनमा उत्तरवर्ती नेपाली कवितामा नारीचेतना कसरी व्यक्त भएको छ भन्ने विषयको विश्लेषण उदार नारीवाद, आमूल नारीवाद, माक्र्सवादी नारीवाद, समाजवादी नारीवाद आदि सिद्धान्तको आधारमा गरिएको छ। यस सन्दर्भमा लैङ्गिक असमानता, नारी अस्तित्व र अस्मिता, नारी स्वतन्त्रता, प्रतिरोध चेतना, पितृसत्ताको विरोध, परिवर्तनको चाहना, अन्यायको विरोध, नारीहरूलाई अघि बढ्न आह्वान, आमाको महिमा र पीडा जस्ता विषयगत ढाँचाहरू प्रस्तुत गरी विश्लेषण गरिएको छ। कविताको विश्लेषण गर्दा त्यसको विषयवस्तुलाई प्रमुख आधार मानिएको छ। यस अध्ययनबाट प्राप्त निष्कर्षअनुसार, पुरुषहरूको तुलनामा नारीहरू अझै पनि आफ्ना अधिकारहरूबाट वञ्चित छन्। वर्तमान सामाजिक तथा आर्थिक अवस्था, पितृसत्ताले निर्माण गरेको पुरातन सोच र विभेदपूर्ण सामाजिक संरचनालाई भत्काई नारी र पुरुष दुवैलाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रहरूमा समान हक स्थापित गर्नुपर्ने आवश्यकता देखिन्छ।