स्नातकोत्तर तहको प्रायोगिक भाषाविज्ञानका प्रमुख क्षेत्र पाठ्यांशको अनुशीलन
Keywords:
प्रायोगिक भाषाविज्ञान, पाठ्याङ्श विश्लेषण, सङ्कथन विश्लेषण, भाषा शिक्षण, प्रकरणार्थ विज्ञानAbstract
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत सञ्चालित स्नातकोत्तर तह (एम.एड.) को सेमेस्टर प्रणालीमा आधारित नेपाली भाषा शिक्षा कार्यक्रमले दक्ष भाषा शिक्षक, पाठ्यक्रम निर्माता तथा भाषिक अनुसन्धाता उत्पादन गर्ने प्रमुख लक्ष्य राखेको छ। यसै सन्दर्भमा एम.एड. प्रथम सेमेष्टरका लागि निर्धारित प्रायोगिक भाषाविज्ञानका प्रमुख क्षेत्र (नेपा. शि. ५१८) पाठ्याङ्शले भाषाविज्ञानका सैद्धान्तिक ज्ञानलाई भाषा शिक्षणको व्यावहारिक ज्ञानसँग जोडेको छ। यस लेखको मुख्य उद्देश्य उक्त पाठ्यांशको विषयवस्तु छनोट र सङ्गठन, सैद्धान्तिक र व्यावहारिक पक्षको सन्तुलन तथा समसामयिक सान्दर्भिकताको विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस अध्ययनमा प्राथमिक रूपमा पाठ्यसामग्री विश्लेषण विधिको उपयोग गरिएको छ। साथै पाठ्यक्रम मूल्याङ्कनको सैद्धान्तिक आधारका रूपमा परिमार्जित सीप (CIPP – Context, Input, Process, and Product) ढाँचालाई अप्रत्यक्ष रूपमा प्रयोग गरिएको छ। यस पाठ्याङ्शले सङ्कथन विश्लेषण, शैलीविज्ञान, कोशविज्ञान, अनुवादविज्ञान र प्रकरणार्थ विज्ञानजस्ता प्रायोगिक भाषाविज्ञानका प्रमुख क्षेत्रहरूलाई भाषा शिक्षणको पेसागत आवश्यकतासँग वैज्ञानिक ढङ्गले जोडेको छ । ४० प्रतिशत आन्तरिक मूल्याङ्कनमा आधारित प्रयोगात्मक कार्यहरू (जस्तैः नमुना शब्दकोश निर्माण, अनुवाद अभ्यास र सङ्कथन विश्लेषणको परियोजना कार्य) ले विद्यार्थीको व्यावहारिक सीप विकासमा ठोस योगदान पु¥याएको देखिन्छ। यद्यपि वर्तमान विश्वव्यापी भाषिक परिदृश्यमा अपरिहार्य बन्दै गएको कम्प्युटर भाषाविज्ञान, कर्पस भाषाविज्ञान र डिजिटल अनुवाद प्रविधिजस्ता आधुनिक प्राविधिक आयामहरूको अभाव यस पाठ्यक्रमको प्रमुख दुर्बल पक्षका रूपमा देखिएको छ। समग्रमा यो पाठ्याङ्श प्राज्ञिक र व्यावहारिक दृष्टिले उत्कृष्ट भए तापनि यसलाई विश्वव्यापी भाषिक प्रविधिको विकाससँग अद्यावधिक गर्नुपर्ने देखिन्छ ।