डिजिटल जनवादको उदय र नेपालका परम्परागत राजनीतिक दलहरू
Keywords:
डिजिटल जनवाद, सामाजिक सञ्जाल, राजनीतिक सहभागिता, परम्परागत राजनीतिक दल, लोकतन्त्रAbstract
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास, इन्टरनेटको व्यापक पहुँच तथा सामाजिक सञ्जालको विस्तारसँगै डिजिटल जनवाद समकालीन राजनीतिक अध्ययनको एक महत्वपूर्ण विषयका रूपमा स्थापित भएको छ । प्रस्तुत अध्ययनले डिजिटल जनवादको उदयले नेपालका परम्परागत राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)—को संगठनात्मक संरचना, राजनीतिक सञ्चार, जनमत निर्माण तथा नागरिक सहभागितामा पारेको प्रभावको विश्लेषण गरेको छ । अध्ययनमा गुणात्मक, परिमाणात्मक तथा मिश्रित अनुसन्धान विधिहरूको प्रयोग गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि अन्तर्वार्ता, केन्द्रित समूह छलफल (फोकस समूह छलफल), सामाजिक सञ्जालका सामग्रीहरूको विश्लेषण, सर्वेक्षण तथा दस्तावेज अध्ययनलाई आधार बनाइएको छ । अध्ययनका निष्कर्षअनुसार डिजिटल प्लेटफर्महरूले राजनीतिक सञ्चारलाई विकेन्द्रीकृत बनाउँदै नागरिक सहभागिता र राजनीतिक चेतनाको विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका छन् । विशेषतः युवापुस्ताको राजनीतिक सक्रियता, वैकल्पिक राजनीतिक विमर्श तथा नयाँ राजनीतिक शक्तिहरूको उदयमा सामाजिक सञ्जाल प्रभावकारी माध्यमका रूपमा देखिएको छ । यद्यपि, एल्गोरिदम–आधारित सामग्री वितरण, दुष्प्रचार, गलत सूचना, प्रतिध्वनि कक्ष तथा राजनीतिक ध्रुवीकरणजस्ता चुनौतीहरूले लोकतान्त्रिक संवादको गुणस्तरलाई प्रभावित गरेको पाइएको छ । अध्ययनले डिजिटल जनवादले परम्परागत राजनीतिक दलहरूको संस्थागत संरचनामाथि चुनौती सिर्जना गर्दै नेता–केन्द्रित राजनीतिक प्रवृत्तिलाई थप सुदृढ बनाएको पनि देखाएको छ । समग्रमा, डिजिटल जनवाद नेपालमा लोकतान्त्रिक सुदृढीकरण र संस्थागत कमजोरिकरण दुवै सम्भावना बोकेको द्वैध राजनीतिक प्रक्रियाका रूपमा रहेको निष्कर्ष निकालिएको छ । त्यसैले लोकतान्त्रिक स्थायित्व र उत्तरदायी शासन सुनिश्चित गर्न राजनीतिक दलहरूको डिजिटल रूपान्तरण, डिजिटल साक्षरताको अभिवृद्धि, तथ्यमा आधारित राजनीतिक सञ्चार तथा प्रभावकारी डिजिटल शासन प्रणालीको विकास आवश्यक रहेको अध्ययनले औँल्याएको छ ।