स्थानीय तहले पाठ्यपुस्तक निर्माणमा गरेको ढिलाइले बालबालिकाको सिकाइमा परेको प्रभाव
Keywords:
स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक अभाव, सिकाइ उपलब्धि, मंगलसेन नगरपालिका, विकेन्द्रीकृत शिक्षाAbstract
नेपालको संविधान (२०७२) ले स्थानीय तहलाई आधारभूत शिक्षाको एकल अधिकार प्रदान गरेसँगै स्थानीय पहिचान र आवश्यकतालाई समेट्न स्थानीय पाठ्यक्रमको अवधारणा ल्याइयो। यसै अनुरूप अछामको मंगलसेन नगरपालिकाले ’हाम्रो मंगलसेन’ नामक स्थानीय पाठ्यक्रम लागू गरे तापनि सोही अनुरूपको पाठ्यपुस्तक मुद्रण र वितरणमा भएको चरम ढिलाइले विद्यालय तहमा गम्भीर शैक्षिक संकट निम्त्याएको छ। यस अध्ययनले पाठ्यपुस्तक निर्माणमा भएको ढिलाइले विद्यार्थीको सिकाइ प्रक्रिया, कक्षाकोठाको वातावरण र शिक्षकको मनोविज्ञानमा पारेको प्रभावको मूल्याङ्कन गर्ने उद्देश्य राखेको छ । मिश्रित अनुसन्धान ढाँचामा आधारित यस अध्ययनका लागि मंगलसेन नगरपालिकाका कुल ४९ विद्यालयमध्ये १५ विद्यालयलाई उद्देश्यमूलक नमूना छनोट मार्फत लिई १५ प्रधानाध्यापक, ३० शिक्षक र ६० विद्यार्थी तथा शिक्षा अधिकारीहरूलाई उत्तरदाताका रूपमा छानिएको थियो। तथ्याङ्क संकलनका लागि प्रश्नावली, अन्तर्वार्ता र समूह छलफलको प्रयोग गरियो । अध्ययनको निष्कर्षले मंगलसेनका विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तकको भौतिक उपलब्धता शून्य प्रतिशत रहेको देखाएको छ। ८५% उत्तरदाताले विद्यार्थीमा विषयवस्तुप्रति गम्भीर अन्योल बढेको र ९०% ले आन्तरिक मूल्याङ्कन तथा परीक्षा सञ्चालनमा चरम सास्ती भोग्नुपरेको पुष्टि गरे। पाठ्यपुस्तक अभावले पाठ्यक्रम केवल प्रशासनिक दस्तावेजमा सीमित भएको, शिक्षकमा निराशा बढेको र विद्यार्थीको उपस्थिति दर (३५% पूर्ण सहमत, ४५% आंशिक सहमत) घटेको पाइयो। यस शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न तत्काल आपत्कालीन मुद्रण, डिजिटल वा अन्तरिम सामग्रीको व्यवस्था र नीतिगत तहमा ’पाठ्यक्रम–पाठ्यपुस्तक समान्तर निर्माण नीति’ अवलम्बन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।