वैदेशिक रोजगारी : समृद्धिको सपना कि सामाजिक सङ्कट
DOI:
https://doi.org/10.3126/anweshan.v3i1.81961Keywords:
रेमिट्यान्स, उद्यमशीलता, सामाजिक प्रभाव, श्रमशक्ति, रोजगारी नीतिAbstract
नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि वैदेशिक रोजगारी आर्थिक उन्नतिको महत्त्वपूर्ण आधार बनेको छ । राष्ट्रका लाखौँ युवा श्रमको खोजीमा खाडी मुलुकहरू मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशहरूमा गएका छन् । विदेशी मुद्राको निरन्तर आप्रवाहले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै व्यक्तिगत र पारिवारिक जीवनमा आमूल परिवर्तन ल्याएको पाइन्छ । यस लेखको उद्देश्य वैदेशिक रोजगारीले निम्त्याएको आर्थिक समृद्धि र सामाजिक सङ्कटबिचको सम्बन्धका बारेमा समीक्षात्मक अध्ययन गर्नु हो । अनुसन्धानमा गुणात्मकपद्धति अपनाएर सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्याङ्क, विद्यमान अनुसन्धानहरू र सन्दर्भ ग्रन्थहरू अध्ययन गरिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशले १४४५ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स प्राप्त गरेको छ; जुन कुल गार्हस्थ उत्पादनको झण्डै २५% हो । यसले ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार, बालबालिकाको शिक्षामा लगानी, स्वास्थ्य सेवाको पहुँच तथा आवासीय संरचनाको उन्नतिजस्ता सकारात्मक परिवर्तनहरू ल्याएको छ । नेपालमा वैदेशिक रोजगारी अर्थतन्त्रको मेरुदण्ड मात्रै नभएर सामाजिक रूपान्तरणको मुख्य आधार बनेको छ । तर पनि यिनै लाभहरूका छायामा पारिवारिक विखण्डन, दाम्पत्य तनाव, एकल अभिभावकत्व, सामाजिक एकता र संस्कारमा ह्रासजस्ता गम्भीर समस्याहरू पनि देखिएका छन् । दीर्घकालीन रूपमा वैदेशिक रोजगारीले युवाहरूलाई आन्तरिक श्रम बजारबाट विस्थापित गराउँदै कृषिको उपेक्षा र परनिर्भर आर्थिक प्रवृत्ति विकास गरिरहेको छ । निष्कर्षतः वैदेशिक रोजगारी नेपालका लागि आर्थिक अपरिहार्यता भए पनि सामाजिक सन्तुलनका दृष्टिले हेर्दा यसले चुनौती पनि सृजना गरिरहेको छ । तसर्थ आर्थिक रणनीति तयार गर्दा सामाजिक सुरक्षालाई समेत समेट्ने दीर्घकालीन र समावेशी नीति बनाउन आवश्यक देखिन्छ ।