नेपालमा आयुर्वेदः स्वास्थ्य संवर्धन, आर्थिक विकास तथा सामाजिक, सांस्कृतिक समृद्धितर्फको सम्भावना
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87542Keywords:
आयुर्वेद, जडीबुटी उद्योग, पर्यटन, सांस्कृतिक पुनर्जागरणAbstract
नेपाल जैविक, भौगोलिक विविधता, सांस्कृतिक सम्पदा र परम्परागत चिकित्सकीय ज्ञानले सम्पन्न राष्ट्र हो । जीवनशैली, संस्कृति, नैतिकता र स्वास्थ्यको समग्र दर्शनका रूपमा विकसित आयुर्वेद नेपालमा केवल उपचार प्रणाली मात्र नभई सामाजिक–सांस्कृतिक पुनर्जागरण र आर्थिक विकासको सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित हुँदैछ । साहित्य समीक्षा र नीति विश्लेषणमा आधारित यो अध्ययनले आयुर्वेदले स्वास्थ्य प्रवर्धन तथा रोगप्रतिरोध, जडीबुटी उद्योग र ग्रामीण रोजगारी तथा आरोग्य पर्यटनका माध्यमबाट आर्थिक अवसर सृजना गर्ने सम्भावना पहिचान गर्दछ । यस लेखले नेपालमा आयुर्वेदको शिक्षादेखि नीति, उद्योग, अनुसन्धान र स्वास्थ्य प्रणालीसम्मको वर्तमान अवस्था र सम्बन्धित चुनौतीहरूको समीक्षा गरी त्यसको विकासका लागि उपयुक्त सिफारिस प्रस्तुत गर्दछ । ‘नेपाल आयुर्वेद चिकित्सा परिषद् ऐन–२०४५ अन्तर्गत आयुर्वेदलाई नेपालमा औपचारिक मान्यता प्राप्त छ । तर सार्वजनिक स्वास्थ्य प्रणालीसँग आयुर्वेदलाई एकीकृत गर्ने प्रक्रियामा भने चुनौतीहरू अझै कायम छन् । यी चुनौतीहरूका बाबजुद आयुर्वेदले नेपालको स्वास्थ्य प्रणालीमा महत्त्वपूर्ण योगदान दिन सक्ने क्षमता राख्छ । आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य–अर्थतन्त्रको ढाँचामा प्रभावकारी रूपमा समायोजन गर्न सके नेपालले आफ्नो सांस्कृतिक पहिचान सुरक्षित राख्दै जनस्वास्थ्य सुदृढ गर्ने र परम्परागत चिकित्सा क्षेत्रमा विश्वस्तरीय केन्द्रका रूपमा स्थापित हुन सक्छ ।