चिकित्सा शिक्षामा समानुभूति र करुणा
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87548Keywords:
बिरामी–चिकित्सक सम्बन्ध, मानवीयता, सामाजिक दायित्वAbstract
चिकित्सा शिक्षाले लामो समयदेखि जैवचिकित्सकीय ज्ञान र प्राविधिक सिपलाई प्राथमिकता दिँदै आएको छ, जसमा निदान, प्रक्रिया र प्रमाणमा आधारित अभ्यासलाई जोड दिइन्छ । मानवतावादी पक्षहरू र सेवाभाव जगाउने पाठ्यक्रम निर्माणमा अझै पनि यथेष्ट ध्यान पुग्न सकेको छैन । चिकित्सा शिक्षा केवल वैज्ञानिक ज्ञान र प्राविधिक दक्षताको विकासमा सीमित हुनु हुँदैन, यसले करुणा, समानुभूति तथा मानवीय मूल्यहरूको समावेशमार्फत समग्र स्वास्थ्यकर्मी निर्माण गर्नुपर्छ । बिरामीको पीडा, सामाजिक–आर्थिक पृष्ठभूमि, सांस्कृतिक विविधता र नैतिक मूल्यमान्यताजस्ता मानवीय पक्षहरूलाई बेवास्ता गर्दा उपचार प्रक्रियामा गम्भीर समस्या सृजना हुन सक्छ र कहिलेकाहीँ स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमणसमेत हुने घटना घट्ने गर्छन । नेपालमा पनि चिकित्सा शिक्षाको पाठ्यक्रमले प्राविधिक दक्षतालाई मात्र प्राथमिकता दिँदा मानवीय संवेदनशीलता ओझेलमा परेको छ । यस लेखमा चिकित्सा शिक्षामा समानुभूति, करुणा र मानवीयताको भूमिकालाई स्थापित गर्नुपर्ने कारण र आवश्यक उपायहरू प्रस्तुत गरिएको छ । विद्यार्थी र शिक्षकले आफूले देखेको, भोगेको अनुभव सुन्ने तथा सुनाउने, मानवीय संवेदनाका लेख, कविता, कथा, चित्रकला र सामूहिक प्रस्तुतिजस्ता सृजनात्मक गतिविधिहरूले विद्यार्थीहरूलाई क्लिनिकल अनुभवमाथि चिन्तन गर्न, अवलोकन सुधार गर्न र भावनात्मक रूपमा सबल र सक्षम हुन मदत गर्छन् । नेपालको सन्दर्भमा विशेषतः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित मेडिकल ह्युमानिटिज (Medical Humanities) विषयले विद्यार्थीहरूमा बिरामीप्रतिको संवेदना तथा सामाजिक सन्दर्भप्रतिको ज्ञान र सिप अभिवृद्धि गरेको अनुभवका बारेमा यो लेखमा व्याख्या गरिएको छ । नेपालजस्तो भाषिक, सांस्कृतिक र आर्थिक विविधता भएको देशमा मेडिकल ह्युमानिटिज विषयलाई चिकित्सा शिक्षाको अनिवार्य अङ्ग बनाउँदा चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मीहरू बिरामीसँगको सम्बन्धमा विश्वास, सम्मान र प्रभावकारिता अभिवृद्धि गर्न सक्षम हुनेछन्, जसले गर्दा समग्र स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी, भरपर्दो, आपसी सद्भावसहित करुणामय सेवा प्रवाह गर्न सकिन्छ ।