नेपालको कम्युनिस्ट आन्दोलन विभाजनमा मनोवैज्ञानिक प्रभाव
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87559Keywords:
पहिचान, समूहगत, व्यावहारिक–अवसरवादी, बहिर्गमन, हिनताबोधAbstract
नेपालको कम्युनिस्ट आन्दोलन २००६ सालदेखि विभाजनको प्रक्रिया सुरु भयो, जहाँ वैचारिक मतभेद, नेता–कार्यकर्ताको महत्त्वाकाङ्क्षा, सङ्गठनात्मक विवाद र बाह्य हस्तक्षेपले गहिरो प्रभाव पार्यो । समूह मनोविज्ञान, सामाजिक पहिचान, संज्ञानात्मक द्वन्द्व र निराशा–आक्रोश सक्रिय भएर उपसमूह निर्माण, आपसी सङ्घर्ष र दीर्घकालीन पार्टी फुटको कारण बने । वि.सं. २००८ सालमा पुष्पलालको महासचिव पदबाट विस्थापनपछि षडयन्त्र, विश्वासघात र पदलोलुप प्रवृत्ति देखियो । संवैधानिक राजतन्त्रमा सहभागिता, नीति–नेतृत्व असन्तुलन, न्यूक्लस र कोअर्डिनेशन विवाद र अन्तर्राष्ट्रिय प्रभावले विभाजनलाई थप गहिरो बनायो । नेतृत्व, अनुशासन र मनोवैज्ञानिक अस्थिरताले पार्टी फुटलाई सहज बनायो । हामी सही कम्युनिस्ट हौँ, तिमी नक्कली कम्युनिस्ट हौ भन्ने मनोविज्ञानबाट निर्देशित भएर नेपालको कम्युनिस्ट आन्दोलनमा बारम्बार विभाजन हुने र आरोपप्रत्यारोप गर्ने प्रचलन चल्दै आयो । सही कम्युनिस्ट को हुन्— कम्युनिस्ट पार्टीको घोषणापत्रअनुसार रणनीति र कार्यनीति निर्माण गर्ने वा विद्यमान पुँजीवादी व्यवस्थासित सहअस्तित्वको आधारमा प्रतिष्पर्धा गरेर सत्ताको बाँडफाँड र उपभोग गर्ने ? यो गम्भीर प्रश्नको अन्तिम फैसला राजनीति र वैचारिक पक्षले गर्ने भए पनि नेपालको कम्युनिस्ट आन्दोलनमा जुन फुट हुँदै आएका छन्, त्यसमा केवल वैचारिक र सैद्धान्तिक पक्ष मात्र होइन मनोवैज्ञानिक पक्ष पनि गहिरो रूपमा जोडिएको छ । नेताहरूको अहम्ता, महत्त्वाकाङ्क्षा, इगो, पदीय लालचा, सम्झौतापरस्त प्रवृत्ति, हिनताबोध, नेतृत्वको भोक, नेतृत्वबाट हट्ने भय तथा सन्त्रास, गुटबन्दी आदि मनोवैज्ञानिक पक्ष हुन् । यी सबै पक्षले पार्टीको विचार, सिद्धान्त, नीति, सङ्गठनात्मक पक्ष, कार्यशैली आदिमा गम्भीर प्रभाव पारेका हुन्छन् । समूह र व्यक्तिका धारणा र इच्छालाई संयोजन गरेर पार्टीलाई सञ्चालन गर्नुपर्ने दायित्वलाई नेपालका कम्युनिस्टले राम्रोसँग ध्यान दिएका छैनन् । विचार र राजनीतिका विषयमा वैचारिक सङ्घर्ष हुने गरेको भए तापनि मनोगत पक्षले पार्ने गम्भीर असर र परिणामबारे ध्यान दिइएको पाइँदैन । विचार तथा राजनीतिको समकक्षबाट मनोवैज्ञानिक पक्षमाथि पनि ध्यान दिन सकेमा आगामी विभाजनलाई न्यूनीकरण गर्न सकिने छ ।