सांस्कृतिक र पर्यावरणीय दृष्टिमा दुबो
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87561Keywords:
आयुर्वेद, पर्यावरण, धार्मिक प्रतीक, वैदिक ज्ञानAbstract
प्रस्तुत लेखमा आयुर्वेद र हिन्दु संस्कृतिमा दुबोको बहुआयामिक महत्त्वको विस्तृत अध्ययन प्रस्तुत गरिएको छ । यस अध्ययनले विशेषगरेर भगवान् गणेशलाई दुबो अर्पण गर्ने पौराणिक परम्पराको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिलाई विश्लेषणात्मक रूपमा परीक्षण गरिएको छ । गणेश पुराण तथा अन्य शास्त्रीय ग्रन्थहरूमा वर्णित ज्वालासुर असुरसँग सम्बन्धित पौराणिक कथाको विस्तृत विवरणका साथै यो परम्पराको सांस्कृतिक महत्त्वलाई यस लेखमा उजागर गरिएको छ । लेखले दुबोको विभिन्न धार्मिक अनुष्ठानहरूमा भएको केन्द्रीय भूमिका, विशेषगेरी गणेश चतुर्थी, दूर्वाष्टमी, दूर्वागणपतिव्रतसहितका महत्त्वपूर्ण पर्वमा यसको अनिवार्य प्रयोग र यसको गहन आध्यात्मिक प्रतीकात्मकतालाई विस्तारसँग प्रस्तुत गरिएको छ । दुबोको तीन पातहरूलाई त्रिदेव (ब्रम्हा, विष्णु, महेश) को प्रतीक मानिन्छ । यसको हरियो रङ समृद्धि र यसको लचिलोपन अटल भक्तिको प्रतीकको रूपमा मान्ने गरिन्छ । यो अध्ययनले आयुर्वेदिक साहित्यमा वर्णित दुबोको व्यापक औषधीय गुणहरूको वैज्ञानिक विवेचना प्रस्तुत गरेको छ । चरक संहिता र भावप्रकाश निघण्टुजस्ता प्रामाणिक आयुर्वेदिक ग्रन्थहरूमा उल्लेखित यसको रक्तशोधक, मूत्रलाई बढाउने, ज्वरघटाउने तथा पाचक गुणहरूको विस्तारका साथ प्रकाश पार्ने कार्य गरिएको छ । यसको शीतल गुणले गर्दा यसलाई पित्त दोष शान्त गर्ने एक शक्तिशाली औषधी मानिन्छ । आधुनिक वैज्ञानिक अनुसन्धानहरूद्वारा यसको एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी र एन्टिब्याक्टेरियल गुणहरूको पुष्टिको उल्लेख गर्दै यसको पवित्रता तथा उपादेयतालाई थप प्रमाणित गर्ने प्रयास गरिएको छ । यी अनुसन्धानहरूले पौराणिक कथामा वर्णित ‘अग्नि’ वा ‘गर्मी’ लाई शान्त गर्ने क्षमतालाई एक ठोस वैज्ञानिक आधार प्रदान गर्नेछ ।